टिकापुर घटना र नागरिक चासो ।
राजनीतिको अपराधीकरण
टिकापुर कैलालीमा भदौ ७ गते त्रासदीपूर्ण घटना घट्यो। राजनीतिको आवरणमा अपराधीहरूले आफ्नो कुत्सित मनसायले नेपालीबीचमा रहेको सद्भाव, भाइचारामा खलल पुर्याउन खोजे। वरिष्ठ प्रहरी अधिकृत सहित बालकको हत्या भयो। यस घटना सँगै देशमा विभिन्न बिचारहरूको श्रृङखला शुरू भएका छन्।थारू मधेसीलाई खस आर्य समुदायले शोषण गरेकाले आफ्नो अधिकार माग्दा यस्तो दुर्घटना भएको भन्ने पहिलो, उपेन्द्र यादव, अमरेश सिंह र राजेन्द्र महतो जस्ता नेताहरूको भड्कावमा आएर सिधा साधा थारू समुदायको आन्दोलन हिंस्रक र साम्प्रदायिक भएको भन्ने दोस्रो र शान्तिपूर्ण आन्दोलनको आवरणमा अपराधीहरू घुसपैठ गरि आन्दोलनलाई रक्तरञ्जीत गराएका भन्ने तेस्रो खालका यस्ता बिचारहरू सामाजिक सञ्जाल र अनलाइनमा देखिन्छ।
टिकापुर कैलालीमा भदौ ७ गते त्रासदीपूर्ण घटना घट्यो। राजनीतिको आवरणमा अपराधीहरूले आफ्नो कुत्सित मनसायले नेपालीबीचमा रहेको सद्भाव, भाइचारामा खलल पुर्याउन खोजे। वरिष्ठ प्रहरी अधिकृत सहित बालकको हत्या भयो। यस घटना सँगै देशमा विभिन्न बिचारहरूको श्रृङखला शुरू भएका छन्।थारू मधेसीलाई खस आर्य समुदायले शोषण गरेकाले आफ्नो अधिकार माग्दा यस्तो दुर्घटना भएको भन्ने पहिलो, उपेन्द्र यादव, अमरेश सिंह र राजेन्द्र महतो जस्ता नेताहरूको भड्कावमा आएर सिधा साधा थारू समुदायको आन्दोलन हिंस्रक र साम्प्रदायिक भएको भन्ने दोस्रो र शान्तिपूर्ण आन्दोलनको आवरणमा अपराधीहरू घुसपैठ गरि आन्दोलनलाई रक्तरञ्जीत गराएका भन्ने तेस्रो खालका यस्ता बिचारहरू सामाजिक सञ्जाल र अनलाइनमा देखिन्छ।
घटनापछि सरकारी प्रयास
टिकापुर हत्याकाण्ड घटिसकेपछि सरकारले स्थितिलाई नियन्त्रण गर्न सेना परिचालन गरेको छ र अहिले कैलालीमा सन्नाटा छ। यसैबीचमा सचेत नागरिकको तप्कामा अपराधिकरणलाई राजनीतिक आवरण दिन खोजिएको र राजनीतिक कार्यलाई अपराधिकरण गर्न खोजिएको भन्ने बहस छेडिएको छ।
नागरिक सरोकार
यसैबीचमा विभिन्न अनलाइन र सामाजिक सञ्जालमा कैलाली घटना पछि थारू समुदायलाई अपराधीको ब्यवहार गरिएको र उक्त कार्यमा थारूइतरका समुदायलाई सरकारी संयन्त्रको प्रोत्साहन देखिएको भन्ने गुनासो सुनिएको छ। हावादारी अनलाइन र सद्भाव भड्काउन खोज्ने सा.स. प्रयोगकर्ताहरूको त चाहना भनेकै यस्ता खबर फैलाउने र देशैभरी द्वन्द्व सिर्जना गर्ने भन्ने नै हो तर असल र सचेत नागरिक भएर हेर्दा त्यस्ता घटना भएकै हुन् भने चिन्ताजनक अवस्था आएको मान्नुपर्छ।
यही चिन्ताको बीचमा मैले कैलालीमा रहेका मेरा ३ जना साथीहरूलाई सम्पर्क गरें दुख सुखका कुरा गरें र उनीहरूले भोग्नुपरेको अवस्था पर्गेल्ने पर्यत्न गरें। जसमध्ये १ जना पहाडीमूलका साथीले कर्फ्युले गर्दा खासै बाहिर जान नसकिएको र थारूलाई अत्याचार भएको नसुनिएको प्रतिक्रिया पाएँ भने बाँकी २ जना थारू साथीलाई सोध्दा भने अवस्था अर्को सुनियो। डर र त्रासको कारणले पुरूष थारूहरू घर छाडेर हिंडेका र कर्फ्यु सकिएपछि के हुने हो भनेर भन्न नसकिने भनेर सबैमा डर रहेको सुनियो। यस्तो अवस्था जति लामो समय रहन्छ नागरिकको राज्य प्रतिको विश्वास घट्दै जान्छ जुन निकै चिन्ताजनक अवस्था हो।
समाधानको बाटो
घटनाको लगत्तै आफन्त, इष्टमित्रहरूको सुरक्षा चिन्ता प्रकट गर्ने र दुर्भाग्यपूर्ण घटनाका उत्प्रेरक, कर्ता र सहभागीहरूको आलोचना गर्नेकाममा सहभागी भइसकेपछि अहिले एउटा नागरिकको रूपमा चिन्ता बढेको छ। कुनै ब्यक्ति, समूह, दल बिशेषले गरेको गल्तीको नाममा सबै समुदायलाई आलोचना गर्न थालिनु, सरकारी संयन्त्र सिङ्गो समुदाय प्रति नकारात्मक रहनु, समुदायले नै चित्त दुखाउने अवस्था सिर्जना हुने स्थिति देखिएको छ । अर्कातिर यति लामोसमय भइसक्दा पनि देशका राजनीतिक दल र सरकारको तर्फबाट उक्त घटनाले आहत नागरिकको घाउमा मल्हम लगाउने कार्य भएको छैन। हरेक देशले समय समयमा यस्ता दुर्भाग्यपूर्ण घटना भोगेका हुन्छन् र यस्ता दुखद घटनालाई समाधान गरेर नागरिक जीवन सामान्य बनाउन सक्ने देश र समुदायनै अझ मजबुत हुन्छन् र यस्ता घटनाबाट सिकेर त्यस्ता घटनाको रोकथाम बेलैमा गर्न सक्ने हुन्छन्। तर हाम्रा दल र सरकारका गतिविधि हेर्दा त टिकापुर घटनाबाट दल र सरकारको सातोपुत्लो उडेको जस्तो देखिन्छ।कोही नजिक पर्न नचाहने, कोही बुझ्नै नचाहने सबै परपर भाग्ने, सबै समस्या मात्र देखाउने, समाधानको जोखिम मोल्न कोही नचाहने।
तर घटनापछि नेपालमा नागरिक सरकार बाँकी छ भने, लोकतान्त्रिक ब्यवस्था छ भने अब सरकारले ढिलो नगरोस् छिटोभन्दा छिटो टिकापुरमा सद्भाव र्याली निकाल्न सक्नुपर्छ। प्रधानमन्त्री र राजनीतिक दलका नेताहरूले ती समुदायका नेताहरूको सहभागितामा ती सभामा सम्बोधन गर्नुपर्छ।
र देशवासीलाई सन्देश दिनुपर्छ हाम्रो समाज मिलेर बसेको थियो, मिलेर बसेको छ, मिलेर बस्नुपर्छ । यसमा सबैभन्दा ठूलो जिम्मेवारी प्रधानमन्त्री सुशील कोइराला, नेता शेरबहादुर देउवा, काँग्रेस एमालेका थारू र जनजाति नेताहरूको रहेको छ।
र अन्त्यमा
अबका दिनमा हाम्रो देशमा यस्ता घटना नहोस् भन्ने चाहने हो भने घटनाप्रति दुख मनाउ गर्ने मात्र होइन यस्ता घटना घटाउन भूमिका खेल्नेलाई कानून बमोजिम कारवाही गर्ने साहस देखाउन सक्नुपर्छ।सरकारले यति काम गर्छ भने नागरिकले आगामी निर्वाचनमा आफ्नो मत मार्फत को ठिक र को बेठिक भन्ने बहिखाता अनुसार मत हालेर दललाई ठेगान लगाउने नै छौं।
- दामोदर पंगेनी, रूपन्देही
२०७२/०५/१४/ सोमबार
Comments
Post a Comment