Skip to main content

रुपन्देहीमा सहकारी मार्फत तरकारीमा ब्यवसायीकरण

रुपन्देहीमा सहकारी मार्फत तरकारीमा ब्यवसायीकरण

दामोदर पंगेनी
एउटै आवश्यकता र उद्देश्य भएका प्राकृतिक तथा कानूनी ब्यक्तिहरुले संचालन गर्ने ब्यवसाय सहकारी ब्यवसाय हो। परापूर्वकाल देखि विभिन्न स्वरुपमा प्रचलनमा रहेको सहकारी ब्यवसायले सदस्यहरुलाई विभिन्न पक्षमा सहयोग पुर्‍याउँदै आएको छ। आवाज विहिनहरुलाई संगठित गर्दै, पूँजीलाई निर्माण गर्दै सामूहिक हितका लागि काम गर्दै आएको नेपाली सहकारी अभियानले हालसम्म ४७ लाख सदस्य बनाउँदै ६० हजार जनसंख्यालाई प्रत्यक्ष र १० लाख जनालाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्न सकेता पनि अर्थतन्त्रमा मानव स्रोत र पूँजी लगानीको अनुपातमा सहकारी क्षेत्रले अर्थतन्त्रमा योगदान गर्न भने सकेको पाइदैन। रसायनिक मल खरीदका लागि मात्र सहकारी गठन गरिनु, सहकारी संस्थागत भन्दा पनि ब्यक्तिगत शैलीबाट संचालित हुनु, संचालक तथा सदस्यमा ब्यवसायिक सोंच नदेखिनाले मानव स्रोत र पूँजीगत लगानीको अनुपातमा उपलब्धि देखिन नसकेको पाइन्छ । समग्र नेपालको अवस्था झैं रुपन्देही जिल्लामा पनि १ जिल्ला सहकारी संघ, ४ वटा विषयगत जिल्ला सहकारी संघ र ६६६ वटा सहकारी संस्था (२०७२ असार मसान्त सम्म) मार्फत सहकारी अभियान अघि बढिरहेको भएता पनि सदस्यहरुको सहभागिता र पूँजीगत साधन लगानीको तूलनामा सहकारीले फड्को मार्न सकेको पाइदैन।
दक्षिणमा भारतको उत्तर प्रदेश, उत्तरमा पहाडी जिल्ला पाल्पा एवं पूर्व र पश्चिममा उस्तै भौगोलिक अवस्था रहेको नवलपरासी र कपिलबस्तु रहेको रुपन्देही जिल्ला पश्चिमाञ्चल क्षेत्रको व्यापारिक केन्द्रको रुपमा प्रसिद्ध रहेको छ। मिश्रित वस्ती रहेको र उर्वरा भूमि रहेको रुपन्देही जिल्लाको क्षेत्रफल १४१३६७ हेक्टर मध्ये ५८.४५ प्रतिशत भूभागमा खेती गरेर जिल्लाको आवश्यकता भन्दा ६५ प्रतिशत बढी खाद्यान्न उत्पादन गरी अन्य जिल्लालाई खाद्यान्न निर्यात समेत गर्दछ। खाद्यान्न उत्पादनका क्षेत्रमा बाहेक दुग्ध उत्पादन, कुखुराजन्य उत्पादन, माछा उत्पादनका क्षेत्रमा समेत रुपन्देही आत्मनिर्भर रहेको छ । रुपन्देही जिल्ला खाद्यान्न, नगदेबाली, माछा, दुग्धजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भर सहजै बनेको होइन, बिभिन्न समस्यालाई झेल्दै निरन्तर उत्पादन गरिरहेका कृषकहरुको योगदानले गर्दा नै मानव विकास सूचांकमा ०.४९८ अंक प्राप्त गरेको हो । औद्योगिक क्षेत्र, सेवा क्षेत्र तथा कृषि क्षेत्रको योगदानको कारणले नै रुपन्देही जिल्लाको प्रतिब्यक्ति आय ११२३ अमेरिकी डलर पुग्न गएको हो।  
ब्यवसायमा सहकारी प्रणालीबाट हस्तक्षेप
हामीले स्वादिलो मान्दै खाने कृषि उपज (तरकारी) उपभोक्ताको प्लेटमा नपुग्दा सम्म मूल्य श्रृंखलाका विभिन्न कर्ताहरुले आफ्नो जिम्मेवारी र कर्तब्य पुरा गरिरहेका हुन्छन्। उत्पादनका सामाग्री उपलब्ध गराउने आपूर्तिकर्ताहरु, ति सामाग्री उपयोग गरी उत्पादन कर्म गर्ने कृषकहरु, कृषकले सामाग्री तयार गरिसके पछि ति उत्पादन खरीदकर्ताहरु, खरीद गरिएका उत्पादनलाई विभिन्न माध्यमबाट उपभोक्ताहरुसम्म पुर्‍याउने सेवा प्रदायकहरुको एकीकृत भूमिका मूल्य श्रृंखलामा महत्वपूर्ण रहेको हुन्छ र तिनले पुरा गरिरहेको जिम्मेवारी अनुसार प्रतिफल प्राप्त गर्ने अवस्था विश्लेषण गर्दा अन्य कर्ताहरुको तुलनामा कृषकहरुको प्रतिफल प्राप्त गर्ने अवस्था निकै अनिश्चिततापूर्ण रहेको देखिन्छ।
उत्पादनका साधनमाथिको पहुँचको कारणले सिर्जना भएका समस्याहरुसंगै लड्दै कृषकहरुले उत्पादन गरेको कृषि उत्पादन बिक्री गर्ने समयमा हाल सम्मको बजारको आपूर्ति प्रणाली अनुसार केही सिमित बिचौलियाले निर्धारण गरेको मूल्यमा आफ्ना तरकारी बिक्री गर्न कृषकहरु बाध्य रहेका छन्।उत्पादक कृषकहरुले बिक्री गर्ने समयमा आफ्नो उत्पादनको लागत हिसाव गर्न पाइरहेका छैनन्। उत्पादन लागत हिसाव गर्न थाल्ने हो भने उत्पादकहरु बिक्री गर्ने स्थल पाउन सक्दैनन्। प्रचलित खरीद विक्री प्रणालीमा कृषकहरुले आफ्नो लागत र बजारमा उपभोक्ताले तिरेको मूल्यबीचमा केही हस्तक्षेप गर्न सक्दैनन्। जिल्लाभरमा साप्ताहिकरुपमा करिव ९१ स्थलमा हाटबजार लाग्ने गर्दछ जुन संख्यात्मक रुपले हेर्दा ठूलो देखिएता पनि ति हाटबजारहरु मात्र जिल्लामा उत्पादन भएको उत्पादनलाई बिक्री गर्न पर्याप्त छैनन्।
यस्तो कठिन अवस्थाबाट कृषकहरुलाई मुक्त गराउँदै तरकारी उत्पादनको क्षेत्रमा ब्यवसायिकता ल्याउने हो भने सहकारी प्रणालीलाई उपयोग गर्न सकिन्छ। सहकारी संस्थाहरुले आवश्यक पर्ने सामाग्रीहरु सहकारी प्रणाली मार्फत सुलभ दरमा उपलब्ध गराउने, बजारमा आएका आधुनिक प्रविधि भित्र्याउने, बजार केन्द्रीत उत्पादनहरु के के छन्, बजारमुखी उत्पादनको बारेमा अभिमुखीकरण गर्ने, तयारी बस्तुको आवधिक एवं नियमित मूल्य सूची उपलब्ध गराउने, तयारी उत्पादन भण्डारका लागि भण्डारण कक्षको ब्यवस्था गर्ने, सहकारी बजार सञ्जाल स्थापना गरी ठूला देखि साना कृषकका उत्पादनलाई संकलन केन्द्र मार्फत खरीद–बिक्रीको सञ्जाल स्थापना गरी उचित मूल्य प्रदान गर्ने, कृषि उत्पादनको क्षेत्रमा आएको नयाँ शैली, सीप, कौशल, प्रविधिहरु प्रसार गराउने तथा जिल्लाको उत्पादकलाई ब्राण्डिङ गर्ने, बजारीकरण गर्ने तथा कृषकहरुलाई उत्पादन कार्यका लागि आवश्यक परेको समयमा बचत तथा ऋण सेवा प्रदान गर्ने वातावरण बनाउने हो भने रुपन्देहीले तरकारी उत्पादनका क्षेत्रमा ठूलो फड्को मार्न सक्दछ। यसले बचत तथा ऋणको कारोबारको क्षेत्रमा मात्र केन्द्रीत रहेको रुपन्देहीको सहकारी अभियानले आफ्नो परिचय र कारोबार अझ फराकिलो बनाउन सक्दछ। सहकारी प्रणाली परिचालन गरी तरकारी ब्यवसाय गर्ने हो भने फर्साटिकरको जिविका बहुउद्देश्यीय सहकारी संस्थाको सदस्यले उत्पादन गरेको काँक्रो तरकारी साहुलाई १० रुपैंया प्रतिकिलोमा बेच्नु पर्ने अनि बुटवलको सशक्त सहकारीको सदस्यले बजारमा त्यही काँक्रो ४० रुपैंयामा खरीद गर्नु पर्ने दुभाग्यपूर्ण अवस्थाबाट बाहिर निस्कन सकिन्छ । सहकारी मार्फत तरकारी ब्यवसायमा प्रवेश गर्ने हो भने सहरी क्षेत्रमा सहकारीमा रहेको पूँजी लगानी गर्ने क्षेत्र पहिचान गर्न नसकी तरलता बढ्दै जाने र ग्रामीण क्षेत्रमा कृषकले उत्पादनका लागि ऋण माग गर्दा पूँजीको अभावले पाउन नसक्ने अवस्थालाई अन्त्य गर्न सकिन्छ ।
पूँजीको स्रोत
तरकारी क्षेत्रलाई ब्यवसायिकीकरण गर्न ठूलो पूँजीको आवश्यकता पर्दछ तर आवश्यक पर्ने पूँजी रुपन्देही जिल्लाको सहकारी अभियानको लागि अप्राप्य भने होइन। पूँजीका लागि जिल्ला सहकारी संघ रुपन्देहीको नेतृत्वमा ४ वटा विषयगत संघ र ६६६ वटा सहकारी संस्थाले शेयर लगानी गरी, जीविकोपार्जन, आयआर्जन, रोजगारी सिर्जना, कृषिको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय गैरसरकारी संस्था तथा गैरसरकारी संस्थाहरुको सहकार्य गरेर एवं सरकारी क्षेत्रबाट लागत साझेदारी गरेर आवश्यक पर्ने करोडौं पूँजी निर्माण गर्न सकिन्छ। 
कच्चा पदार्थको उपलब्धता
कच्चा पदार्थको उपलब्धताको दृष्टिकोणबाट हेर्ने हो भने रुपन्देही जिल्लामा तरकारी उत्पादन, बजारीकरण लागि आवश्यक पर्ने कच्चा पदार्थहरु सहजै उपलब्ध हुने देखिन्छ। कृषि प्रविधि प्रसारको क्षेत्रमा भारत नेपालको ब्यापारिक नाका बेलहिया–सुनौली मार्फत हालसम्म भित्रिरहेको प्रविधिको प्रबृत्ति हेर्दा प्रविधि हस्तान्तरण एवं प्राप्यता सहज नै देखिन्छ।
मानव साधनको उपलब्धता
रुपन्देही जिल्लामा तरकारी व्यवसायमा सहकारी क्षेत्रको लगानी केन्द्रीत गर्नका लागि चाहिने मानव साधन यसै जिल्लामा उपलब्ध हुन सक्ने देखिन्छ। दक्ष प्राविधिक देखि अर्धदक्ष जनशक्ति र अदक्ष श्रमिक यस जिल्लामा सहजै पाउन सकिन्छ । 
भौगोलिक र प्राविधिक दृष्टिकोणले सम्भावना
भौगोलिक रुपले तराईमा रहेको जिल्ला भएकोले जिल्लाका सवै भागमा छोटो समयमै पुग्न सकिन्छ। जिल्लाका सवै नगरपालिका र गाविसहरु सडक सञ्जालले जोडिएको हुनाले पनि तरकारी ओसारपसार गर्नका लागि सवारीसाधन आवतजावत गर्न भौगोलिक र प्राविधिक दृष्टिकोणले सम्भव रहेको छ। जिल्ला वारपार गर्नका लागि धेरै लामो दुरी नभएकोले जिल्लाको एक क्षेत्रमा उत्पादित तरकारी केही घण्टामा नै अर्को क्षेत्रमा पु¥याउन सकिन्छ । जिल्लाको आवश्कता भन्दा बढी भएको उत्पादन अन्य जिल्लामा निर्यात गर्नका लागि मेची देखि महाकाली, मर्चवार देखि मुस्ताङ सम्म यातायातको सहज पहुँच भएकाले पनि तरकारी व्यवसायको क्षेत्रमा प्रचुर सम्भावना देखिन्छ।
ब्यवसायिक मोडलको सम्भाव्यता
केही दशक पहिले सम्म देशैभरीमा दुग्ध ब्यवसायको अवस्था अहिलेको तरकारी व्यवसाय जस्तै अवस्थामा रहेको थियो। बुटवल भैरहवा जस्ता शहरी क्षेत्रका दुध किन्ने उपभोक्ताले दुध संगै सिद्रा माछा, भ्यागुता खानु पर्ने अवस्था थियो। तर जव देखि सहकारी क्षेत्रले दुध खरीद विक्रीको कारोबार थालनी गर्‍यो त्यस समय देखि उत्पादकहरुले पाउने मूल्य र उपभोक्ताले तिरेको मूल्यबीचको फरकमा महसुस गर्न सकिने गरी कमी आएको देखिन्छ। त्यसै व्यवसायिक मोडललाई अवलम्बन गरेर रुपन्देहीमा तरकारी व्यवसायलाई सहकारी मार्फत अगाडि बढाउन सकिन्छ। जिल्लाका सबै निर्वाचन क्षेत्रमा कम्तीमा एकएक संकलन केन्द्र स्थापना गरी, संकलित तरकारीलाई आवश्यकता अनुसार भण्डारण कक्षामा सुरक्षित राखी, संकलित र भण्डारित तरकारीलाई सहरी क्षेत्रमा संचालन गरिने ठूला ठूला विक्री केन्द्र मार्फत विक्री वितरणको सञ्जाल बनाउन सकिन्छ । ग्रामीण क्षेत्रमा उत्पादन भएको उपजलाई सहरका उपभोक्ता समक्ष उपलब्ध गराएर, सहरमा उत्पादन भएका उत्पादनका साधन ग्रामीण क्षेत्रका कृषकहरुलाई बिक्री गरेर सहकारीले नाफा संगै गाउँ सहरबीचको आर्थिक सामाजिक अन्तक्रिर्या बृद्धि गर्न सक्दछ।
चुनौतीहरु
कृषि क्षेत्रको ब्यवसायिकता सबैको सरोकार र चिन्तनको विषयको रुपमा स्वीकार गर्दै सहकारी अभियान, यस क्षेत्रमा चासो राख्ने गैरसरकारी क्षेत्र र सरकारी क्षेत्रको सहकार्यमा कार्यक्रम संचालन गर्दा समेत खुला सिमाना भएको कारणले भारतबाट हुने आयातको कारण, बिचौलियाको रुपमा अकूत नाफा खान पल्केका ब्यापारीहरुले चुनौती खडा गर्न सक्दछन्, ठूलो परिमाणमा भएको उत्पादन लामो समय बचाउन र छिटो नाश हुने उत्पादन भएकोले उत्पादन बढी भएको समयमा संचिती गर्न कठिनाई जस्ता चुनौतीहरु छन् र भविश्यमा आउने छन् तर यी समस्याहरु समाधान गर्न नसकिने समस्या भने होइनन्। भारतबाट हुने आयातको कारणले मूल्यमा पर्ने असरबाट बचाउनका लागि अन्य जिल्ला संग तरकारी ब्यवसायलाई जोड्न सकिन्छ भने उत्पादकहरुले सहकारी मार्फत सूपथ मूल्यमा उत्पादनका साधनहरु (बिऊ बिजन, मल, कृषि सामाग्री) खरीद गरी उत्पादन गर्दा हाल परिरहेको लागत भन्दा कम पर्ने भएकोले भारतीय उत्पादनसंग प्रतिश्पर्धा गर्ने क्षमतामा पनि बृद्धि हुन्छ भने र छिटो कुहिने बस्तु भएको कारणले उत्पादन धेरै हुँदा संचित गर्न नसकी लागत नउठ्दा समेत बिक्री गर्नु पर्ने बाध्यतामा रहेका कृषकहरुलाई संकलन केन्द्रको सञ्जाल, चिस्यान केन्द्र र भण्डारण कक्षका सुविधाहरुको व्यवस्था गरी आपूर्ति नियन्त्रण गरी बजारलाई प्रभावित पारी अस्वाभाविक नाफा खान पल्केकाहरु माथि नियन्त्रण गर्न सकिने अवस्था सिर्जना गर्न सकिन्छ ।
जब सम्म कृषकहरुले एक मुठा फर्सीको मुन्टा चाहिँदा हाटबजारका तरकारी पसलमा गई किने जस्तै सहकारीले संचालन गरेको तरकारी पसलमा गई सरल तरिकाले किन्ने र आफ्नो तरकारी बारीमा फलेको एक पाउ घिरौंला बोकेर सहकारीको तरकारी पसलमा गई सजिलै बेच्न सकिने वातावरण तयार गर्न सकिदैन तव सम्म कृषि क्षेत्रमा व्यवसायीकरणको नारा कर्णप्रिय नारा मात्र रहीरहने छ।
सन्दर्भ सामाग्री
आर्थिक सर्वेक्षण – २०७१÷७२, अर्थ मन्त्रालय
जिल्ला प्रोफाइल – २०७२, जिविसको कार्यालय रुपन्देही

Comments

Post a Comment

Popular posts from this blog

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋ...

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१)मा सहकारी क्षेत्र

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) मा सहकारी क्षेत्र                                                                               - दामोदर पंगेनी नेपालले राष्ट्रिय योजना आयोग मार्फत आवधिक रुपमा योजना निर्माण गरी कार्यान्वयन गर्दछ। वि.सं. २०१३ साल देखि निरन्तर पञ्चवर्षिय र त्रिवर्षिय योजना मार्फत देश विकासका लागि योजना निर्माण गर्दै कार्यान्वयन गरिरहेको परिप्रेक्ष्यमा पन्धौं योजना (२०७६/७७ देखि २०८०/८१) चालु आर्थिक बर्ष देखि कार्यान्वयमा रहेको छ। राष्ट्रिय योजना आयोगले १४ औं योजना (२०७३/७४ देखि २०७५/७६) लाई समीक्षा गर्दै चालु पन्ध्रौं योजनामा सहकारी क्षेत्रका लागि निर्धारण गरेका लक्ष्य, उद्देश्य, रणनीतिहरु र कार्यनीतिहरु निम्न अनुसार रहेका छन्।  १४ औं योजनाको अन्त्यमा राष्ट्रिय योजना आयोगले सहकारी क्षेत्रलाई यसरी समीक्षा गरेको छ। आ.व. २०७४/७५ मा सहकारी संस्थाको ...

‘रुपन्देही–जिल्ला एक परिचय अनेक’

–दामोदर पंगेनी एसियाका ज्योति गौतम बुद्धको जन्मस्थल पवित्र धार्मिक स्थल लुम्बिनीलाई आफ्नो मुटुमा संगालेको ‘रुपन्देही’ नेपालको एक महत्वपूर्ण जिल्लाको रुपमा परिचीत छ । पश्चिमाञ्चल विकासक्ष्ँेत्रको लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही १३६० वर्ग किमी ओगटेको मध्यम आकारको जिल्ला हो । नेपालको सवभन्दा लामो महेन्द्र राजमार्गले पूर्व पश्चिम काटेको र अर्को महत्वपूर्ण सिद्धार्थ राजमार्ग यसै जिल्लाको वेलहिया देखि शुरुवात हुनुको साथै जिल्ला सदरमुकाम भैरहवामा विमानस्थल रहेको छ । जातिय तथा भाषिक विविधता बोकेका नेपालका अन्य जिल्लाझै यस जिल्लामा पनि विभिन्न जातजाति तथा भाषाभाषिको वसोवास रहेको छ । वसोवासको बनौट हेर्दा जिल्लाको पूर्वोत्तर भागमा पहाडी मूलका र पश्चिमी भागमा आदिवासी थारु जातिको बाहुल्यता रहेको छ । राजनीतिक दृष्टिकोणले यस जिल्लालाई सात निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ भने यस जिल्लामा कुल ६९ गाविस तथा बुटवल र सिद्धार्थनगर गरी २ नगरपालिका रहेका छन् । ७,०८,४१९ जनसंख्या रहेको जिल्लामा जनसंख्या मध्ये ६६.२ प्रतिशत जनसंख्या साक्ष्ँर रहेको छ । मुख्यतः लुम्बिनी अञ्चलका अन्य जिल्लाका साथै गण्डकी र ...