Skip to main content

राज्य पुनर्संरचनाको बहस र मायादेवी गाउँपालिकाको सम्भाब्यता

राज्य पुनर्संरचनाको बहस र मायादेवी गाउँपालिकाको सम्भाब्यता
२०७२ असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दोस्रो संविधानसभा मार्फत देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी गरिसकेपछि सोही संविधानको जगमा टेकेर संघीय लोकतान्त्रिक संविधानको मर्म अनुसार अहिले देश राज्य पुनसंरचना गर्ने मोडमा आइपुगेको छ। हिजोको केन्द्रीकृत शासन ब्यवस्थामा कुनै जाति विशेष, कुनै धर्म विशेष, कुनै भूगोल विशेष, कुनै भाषामात्र बढी लाभान्वित हुँदा धेरै जाति, भाषा, लिंग, पेशा, भूगोल तथा समुदायहरु विकासको मूलधारमा आउन नसकेको महसुस गर्दै ति पछाडि परेका समुदायलाई संघीयता मार्फत शासनमा सहभागी गराउनका लागि सरकारले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग गठन गरेको छ। उक्त आयोगले सरकार मार्फत प्राप्त गरेको आफ्नो कार्यादेश बमोजिम देशलार्ई कस्तो प्रकारले पुनर्संरचना गर्दा देशको सही संरचना भई विगतका बिभेद र असमानताबाट समता र समृद्धिको बाटोमा लैजान सकिन्छ भनी हालका स्थानीय निकायहरु गाउँ विकास समिति, नगरपालिका तथा जिल्ला विकास समितिहरुबाट स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधि अनुसार सहयोग, सल्लाह र सुझाव माग गरेकोले हरेक क्षेत्रमा राज्य पुनर्संरचनाको बहस छेडिएको छ।
राज्य पुनर्संरचनाको बहसमा केन्द्र देखि स्थानीय चोक चौराहा, चिया पसल देखि राजनीतिक दलका बैठकहरुमा भई रहेको सन्दर्भमा नागरिकहरु आफ्ना लागि हुँदै गरेको राज्य पुनर्संरचना कस्तो बन्दै छ, म कुन गाउँपालिका वा नगरपालिकामा पर्दै छु, राज्य पुनर्संरचनाले मेरो लागि के कस्ता सुविधाहरु कुन स्थलमा ल्याउँदै छ, मेरो लागि के कस्ता अवसरहरु सिर्जना हुँदै छ भनी विशेष ध्यान दिनु महत्वपूर्ण हुन्छ। नागरिक स्तरमा रहेको चिन्ता र चिन्तनका बिचमा रही रुपन्देहीको मध्य भागमा रहेको, तिनाउ र दावन नदीबिचका भूभागलाई राज्यपुनर्संरचना गर्ने बहसमा सहभागी हुने अपेक्षाका साथ हालका सौ.फर्साटिकर, प.अमवा, हर्नैया, दयानगर, मानमटेरिया, मानपकडी र ख.बनगाई गाविसहरुलाई मिलाई एउटा गाउँपालिका बनाउने गरी प्रस्तावित मायादेवी गाउँपालिकाको बहस आरम्भ गरेको छु।

नेपालको संविधानको धारा २९५(३) अनुसार गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग गठन गरी सो आयोगले जारी गरेको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधि अनुसार नेपालको तराईका लागि गाउँपालिकाका लागि कम्तीमा ५० हजार, नगरपालिकाका लागि ७५ हजार, जिल्ला सदरमुकाम भएमा ९५ हजार, उपमहानगरपालिकाका लागि १५०
हजार र महानगरपालिकाका लागि ३ लाख जनसंख्या भएको हुनु पर्ने ब्यवस्था भएकाले सोही कार्यशर्त एवं कार्यविधिको अधिनमा रही प्रस्तावित मायादेवी गाउँपालिका गठन गर्न सकिने देखिन्छ।
प्रस्तावित मायादेवी गाउँपालिकाको क्षेत्रमा पर्ने गाविसहरुको जनसंख्या र क्षेत्रफल
प्रस्तावित मायादेवी गाउँपालिकाको भूभागः सेतो रंगले देखाइएको छ।
क्र.सं., हालका गाविसहरु, क्षेत्रफल, (वर्ग किमी) जनसंख्या  (२०६८)
१ प.अमवा               १८.५८  वर्गकिमी     ११२३१
२ सौ.फर्साटिकर       १३.५    वर्गकिमी     ९६६३
३ मानपकडी            १४.५१  वर्गकिमी     ६७८३
४ ख.बनगाई            १४.९८  वर्गकिमी     ८७४६
५ मानमटेरिया         १७.०५  वर्गकिमी     ९४४६
६ हर्नैया                  ११.७६  वर्गकिमी     ४८५८
७ दयानगर             १७.५१   वर्गकिमी    ९२२९
                    जम्मा  १०७.८९ वर्ग किमी   ५९९५६

प्रस्तावित मायादेवी गाउँपालिकाको सामर्थ्य 

प्रस्तावित मायादेवी गाउँपालिकाको सिमानामा तिनाउ र दानव नदी रहेका छन्, त्यसबाहेक घमाहा खोला, सियारी खोलाले पनि यस क्षेत्रलाई जलको क्षेत्रमा सामर्थ्यवान बनाएको छ। केही संस्थागत र निजी प्रयासमा लगाइएका साना आकारका वनहरु बाहेक सौ.फर्साटिकर, अमवा, हर्नैया, मानपकडी गाविसमा १/१ र मानमटेरिया गाविसमा रहेका ३ वटा सामुदायिक वनले जंगलको क्षेत्रमा सामर्थ्यवान बनाएको छ। कृषिको क्षेत्रमा दयानगरको माछा, मानपकडी, प.अमवा, ख.बनगाई, मानमटेरिया, हर्नैयाको तरकारी, सौ.फर्साटिकर, प.अमवा, मानपकडी, दयानगरको दुग्ध एवं मासुजन्य उत्पादन एवं समथर र खेती योग्य जमिनले धान, गहुँ, तोरी, दलहन लगायतका क्षेत्रमा सम्पन्न र आत्मनिर्भर रहेको देखिन्छ। पूर्वाधारतर्फ पर्याप्त सडक सञ्जाल, प्रशस्त हाटबजार, १५ भन्दा बढी खेल मैदानको उपलब्धता, इलाका प्रहरी कार्यालय दयानगर, अस्थायी प्रहरी कार्यालय सौ.फर्साटिकर, सशस्त्र प्रहरी बेस क्याम्प प.अमवा रहेको, १ वटा कृषि सेवा केन्द्र, १ वटा पशु सेवा केन्द्र रहेको, सिचाईको लागि भूमिगत जलपरियोजना एवं भूसतही सिचाई प्रणाली रहेकोले पनि प्रस्तावित मायादेवी गाउँपालिकालाई सामर्थ्यवान बनाएको छ। उद्योगको क्षेत्रमा  सौ.फर्साटिकरको टाइगर बु्रअरी, श्रीनगर एग्रो, हरेक गाविसमा उल्लेख्य मात्रामा रहेका इटा कारखाना, खाद्यान्न संग सम्बन्धित साना तथा घरेलु उद्योगहरु, मानपकडीमा रहेको अन्नपूर्ण सहकारीको खाद्यान्न प्रशोधन प्लान्टले यस क्षेत्रलाई क्षमतावान बनाएको छ। शिक्षाको क्षेत्रमा सौ.फर्साटिकरको स्नातकोत्तर क्याम्पस, दयानगरको स्नातक क्याम्पस, प.अमवाको कृषि प्राविधिक शिक्षालय, एवं ठूलो संख्यामा रहेका सामुदायिक र संस्थागत विद्यालयको उपलब्धता रहेको छ। स्वास्थ्यको क्षेत्रमा सौ.फर्साटिकरको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र, दयानगरको बर्थिङ सेन्टर, हरेक गाविसमा स्वास्थ्य चौकीहरु रहेका छन्। पर्यटनको क्षेत्रमा निर्माणाधीन बुद्ध परिक्रमा सडकले छोएका सौ.फर्साटिकर, मानपकडी र मानमटेरियाले यस क्षेत्रमा रहेको अपार पर्यटकीय सम्भावनालाई उजागर गर्नुको साथै फर्साटिकरको प्रसिद्ध सियाभार मन्दिर, मानपकडीको ऐतिहाँसिक दरवाहा, हर्नैयाको प्रसिद्ध गुम्वा, सियारीको सिमसार क्षेत्रले यस क्षेत्रको पर्यटकीय क्षमतालाई प्रष्ट्याएको छ। बित्तीय क्षेत्रमा ६० भन्दा बढी सहकारी संस्था ७ वटा बैंकहरू रहेकोले आर्थिक एवं बित्तीय  क्षेत्रमा पनि उदाउँदो क्षेत्रको रूपमा रहेको देखिन्छ। 
यस्ता सम्भावनालाई मध्यनजर गर्ने हो भने प्रस्तावित मायादेवी गाउँपालिकाका क्षमतालाई उपयोग गर्दै दूरदृष्टि र दृष्टिकोण भएको नेतृत्वमा विकासको मार्गमा लगी छोटोे समयमा देशको नमूना गाउँपालिका बनाउन सकिन्छ।

प्रस्तावित भूगोलका जनताबीचको हाल सम्मको अन्तरसम्बन्ध

यी भौगोलिक क्षेत्रमा बसोवास गर्ने नागरिकबीचमा परम्परा देखि नै नङ र मासुबीचकै सरह सम्बन्ध रहेको छ। हाटबजार गर्न फर्साटिकर जाने, माछा खान छपिया जाने, दैनिक उपभोग्य सामान किन्न फर्साटिकर, अमवा बजार गर्न जाने, तरकारी, खाद्यान्न चाहिए मानपकडी, मानमटेरिया र ख.बनगाई जाने चलिरहेको अभ्यास हो। मानपकडीको दरवाह मेलामा सबैजना सहभागी हुने, प.अमवाको पुष १५ मा हुने तमु महोत्सवमा सबै रमाउने, यही भूगोलबीचमा बिहेबारीको सम्बन्ध पनि रहेकोले भूगोलबीचको सम्बन्ध निकट रहेको देखिन्छ। बैवाहिक जलवायु परिवर्तन एवं प्रकोप जोखिम क्षेत्र स्तरीकरणमा प्रस्तावित भूगोलमा पर्ने प.अमवा, सौ.फर्साटिकर, मानमटेरिया, हर्नैया, ख.बनगाईले १२ अंक र मानपकडी र दयानगर ११ अंक प्राप्त गरेकाले पनि यी गाविसको भौगोलिक स्तर समान रहेको देखिन्छ। 

मायादेवी गाउँपालिकाको सम्भावित केन्द्र

राज्य पुनर्संरचना गर्दाको सबैभन्दा पेचिलो मुद्दाको रुपमा रहेको केन्द्र निर्धारणका लागि हालका गाविसहरुले आफ्नो भूगोल भित्र केन्द्र स्थापना गर्न पहलकदमी गर्न खोज्ने सम्भावना रहन्छ जुन स्वभाविक पनि हो। केन्द्र स्थापना हुँदा सेवा सुविधाको उपलब्धतामा बृद्धि हुने, अवसर सिर्जना हुने आशामा आफ्नै गाविस भित्र केन्द्र स्थापना गर्न पाए हुन्थ्यो भन्ने आकांक्षा राख्दै गर्दा केन्द्र स्थापनाका लागि पहलकदमी गर्नेहरुले स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधिका शर्तहरुमा ध्यान दिनु जरुरी देखिन्छ। कार्यशर्त तथा कार्यविधिले गाउँपालिकाको केन्द्र निर्धारणका लागि निम्न बमोजिम आधारहरु तोकेको देखिन्छ।
क) सम्भव भएसम्म सम्बन्धित इकाईको मध्यभाग
ख) सडक यातायातले छोएको
ग) संचार सुविधा सहज उपलब्धता भएको
घ) विद्युत सुविधा पुगेको
ङ) कार्यबोझका हिसावले भविश्यमा आवश्यक पर्न सक्ने पर्याप्त जग्गा वा खुला क्षेत्र भएको
च) बस्तीयोग्य भएको, जोखिमयुक्त नभएको ठाउँ
आयोगले निर्धारण गरेका यस्ता आधारहरुलाई विश्लेषण गर्ने हो भने प्रस्तावित मायादेवी गाउँपालिकाको केन्द्र बनाउनका लागि प.अमवा गाविसको वडा नं. १ र ३ नं. वडा संग मानमटेरियाको ८ र मानपकडीको वडा नं. ५ संग जोडिने भाग लक्ष्मणगञ्ज, रेहरा मदनगञ्जको आसपास उपयुक्त हुने देखिन्छ। सो भूभाग देखि प्रस्तावित ७ वटै गाविसका अन्तिम किनारामा पुग्नका लागि ९ किमी भन्दा बढी नपर्ने हुन्छ । प्रस्तावित केन्द्र देखि ब्यापारिक केन्द्रहरु फर्साटिकर बजार, अमवा बजार, छपिया बजार, मानपकडी बजार समान दुरीमा पर्ने र भौगोलिक हिसावले सबै गाविसहरुको केन्द्रमा पर्ने देखिन्छ। केन्द्र निर्धारण गर्ने सवालमा सबैले हाम्रो गाविसमा पर्नु पर्छ भन्ने दावी गरिरहँदा हामीले अब बन्ने गाउँपालिकाको केन्द्र हाम्रै लागि बन्दै छ भन्ने तर्फ पनि दृष्टि दिन आवश्यक हुन्छ।

मायादेवी नाम नै किन ?

भौगोलिक, सांस्कृतिक, पहिचान, सामथ्र्यको हिसावले हाल प्रचलनमा रहेका गाविसको नाममा सबैको सहमति हुने सम्भावना कम देखिन्छ। हाल सम्म प्रचलनमा रहेको लुम्बिनी अञ्चल र रुपन्देही जिल्ला दुबै भगवान गौतम बुद्ध संग सम्बन्धित रहेका छन्। विश्वमा अर्बको संख्यामा रहेका बौद्ध धर्मावलम्बीहरुको धार्मिक केन्द्र लुुम्बिनीको निकटमा रहेको एवं बुद्ध परिक्रमा सडकमा पर्ने क्षेत्र भएकोले पर्यटकीय सम्भावनाको दृष्टिकोणले पनि गाउँपालिकाको नाम मायादेवी बनाउनु बुद्धिमत्तापूर्ण हुने देखिन्छ।

स्रोतहरु
१. जिल्ला विकास समिति रुपन्देहीको प्रोफाइल:
http://202.45.144.236/rupandehi/wp-content/uploads/2015/10/District-Profile-Final-1-2071-.doc
२. ख.बनगाई गाविसको संक्षिप्त चिनारी
३. स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधि:
http://llrc.gov.np/sites/default/files/news/123456%20(1).pdf

Comments

  1. Very good article, it must read by every person in our VDCs. Keep Writing.👍😷

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋ...

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१)मा सहकारी क्षेत्र

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) मा सहकारी क्षेत्र                                                                               - दामोदर पंगेनी नेपालले राष्ट्रिय योजना आयोग मार्फत आवधिक रुपमा योजना निर्माण गरी कार्यान्वयन गर्दछ। वि.सं. २०१३ साल देखि निरन्तर पञ्चवर्षिय र त्रिवर्षिय योजना मार्फत देश विकासका लागि योजना निर्माण गर्दै कार्यान्वयन गरिरहेको परिप्रेक्ष्यमा पन्धौं योजना (२०७६/७७ देखि २०८०/८१) चालु आर्थिक बर्ष देखि कार्यान्वयमा रहेको छ। राष्ट्रिय योजना आयोगले १४ औं योजना (२०७३/७४ देखि २०७५/७६) लाई समीक्षा गर्दै चालु पन्ध्रौं योजनामा सहकारी क्षेत्रका लागि निर्धारण गरेका लक्ष्य, उद्देश्य, रणनीतिहरु र कार्यनीतिहरु निम्न अनुसार रहेका छन्।  १४ औं योजनाको अन्त्यमा राष्ट्रिय योजना आयोगले सहकारी क्षेत्रलाई यसरी समीक्षा गरेको छ। आ.व. २०७४/७५ मा सहकारी संस्थाको ...

‘रुपन्देही–जिल्ला एक परिचय अनेक’

–दामोदर पंगेनी एसियाका ज्योति गौतम बुद्धको जन्मस्थल पवित्र धार्मिक स्थल लुम्बिनीलाई आफ्नो मुटुमा संगालेको ‘रुपन्देही’ नेपालको एक महत्वपूर्ण जिल्लाको रुपमा परिचीत छ । पश्चिमाञ्चल विकासक्ष्ँेत्रको लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही १३६० वर्ग किमी ओगटेको मध्यम आकारको जिल्ला हो । नेपालको सवभन्दा लामो महेन्द्र राजमार्गले पूर्व पश्चिम काटेको र अर्को महत्वपूर्ण सिद्धार्थ राजमार्ग यसै जिल्लाको वेलहिया देखि शुरुवात हुनुको साथै जिल्ला सदरमुकाम भैरहवामा विमानस्थल रहेको छ । जातिय तथा भाषिक विविधता बोकेका नेपालका अन्य जिल्लाझै यस जिल्लामा पनि विभिन्न जातजाति तथा भाषाभाषिको वसोवास रहेको छ । वसोवासको बनौट हेर्दा जिल्लाको पूर्वोत्तर भागमा पहाडी मूलका र पश्चिमी भागमा आदिवासी थारु जातिको बाहुल्यता रहेको छ । राजनीतिक दृष्टिकोणले यस जिल्लालाई सात निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ भने यस जिल्लामा कुल ६९ गाविस तथा बुटवल र सिद्धार्थनगर गरी २ नगरपालिका रहेका छन् । ७,०८,४१९ जनसंख्या रहेको जिल्लामा जनसंख्या मध्ये ६६.२ प्रतिशत जनसंख्या साक्ष्ँर रहेको छ । मुख्यतः लुम्बिनी अञ्चलका अन्य जिल्लाका साथै गण्डकी र ...