Skip to main content

युवाहरुका लागि सहकारीः ब्यक्तित्व विकासको अवसर

                                                                                                                                          - दामोदर पंगेनी
     
राजा महेन्द्र प्रेरित राज्य नियन्त्रित अर्थब्यवस्थालाई लामो समयसम्म अभ्यास गरेको नेपालले २०४६ सालको राजनीतिक परिवर्तन पछि गठन भएको निर्वाचित सरकारले आर्थिक उदारीकरणलाई अंगाल्दै मिश्रित्र अर्थब्यवस्थालाई अवलम्बन गरेको थियो । मिश्रित अर्थब्यवस्थामा निजी क्षेत्रलाई सम्मानजनक स्थान प्रदान गर्दै धेरै क्षेत्रमा लगानी गर्ने सुविधा सहुलियत प्रदान गरियो । निजी क्षेत्रको मात्र भर पर्दा देशमा एकाधिकारको अवस्था सिर्जना भई सर्वसाधारण माथि चरम शोषणको अवस्था उत्पन्न हुन सक्ने सम्भावनालाई हेक्का राख्दै निजी क्षेत्रसंग प्रतिश्पर्धा गर्ने गरी केही निश्चित ब्यवसायहरु राज्य संयन्त्र मार्फत संचालन गरियो । तर राज्य संयन्त्रको चरम असफलताका कारण विभिन्न संस्थान, निगम, प्राधिकरण जस्ता सरकारी ब्यवसायहरु मध्ये नेपाल टेलिकम जस्ता केही सिमित ब्यवसाय बाहेक अन्य ब्यवसाय संचालन गर्न सरकारी संयन्त्र असफल भईसकेपछि विकल्पको रुपमा सहकारी क्षेत्रलाई लिएको देखिन्छ। सहकारी क्षेत्रलाई राज्यले अर्थतन्त्रको तेस्रो खम्वा भनी जुन महत्व प्रदान गरेको छ धेरै कामहरुलाई सहकारी क्षेत्रमार्फत सम्पन्न गर्ने भनी निर्धारण गरेको छ । यसले सहकारी क्षेत्रको गरिमा र महत्वलाई बृद्धि गर्नका साथै देश विकासमा सहकारी क्षेत्रले दिएको योगदानलाई पनि स्मरण गरेको महसुस हुन्छ ।राज्यले सहकारी मार्फत सम्पन्न गरिने भनेर निर्धारण गरेका योजनालाई सहकारी मार्फत सम्पन्न गर्न सकिएमा आगामी दिनमा सहकारी क्षेत्रको गरिमा अझ बृद्धि हुन अवश्यम्भावी छ ।

राज्यले सहकारी क्षेत्रको योगदानलाई कदर गर्दै केही कामहरु सहकारी मार्फत गर्ने भनी योजना निर्धारण गरेता पनि सहकारी क्षेत्रको संस्थागत विकास र जनशक्तिको कमीका कारण ति लक्ष्यहरु सजिलै पुरा हुन सक्ने सम्भावना देखिदैनन् । करीव ३५ हजार भन्दा बढी संख्यामा देशभर छरिएर रहेका सहकारीहरु मध्ये सिमित सहरी क्षेत्रमा रहेका सहकारीबाहेक अन्य मोफसल र दुर्गम क्षेत्रमा रहेका सहकारी संग आवश्यक दक्ष जनशक्तिको अभाव रहेको छ। 
उत्पत्तिगत रुपले पूर्विय सभ्यताबाट शुरु भएको प्राचिन सहकारिताका विविध रुप हाम्रो समाजमा हालसम्म कायम छन् । हामीले कृषि क्षेत्रमा अवलम्वन गरेका अर्मपर्म, ढिकुर, रोधी, गुठी, भाँजा, कुलाही, जिउँदाको जन्ति मर्दाको मलामी अवधारणाले सहकारिताको प्राचिन रुपलाई बढाइरहेका छन् तर अहिलेको विश्वमा आधुनिक सहकारिताको विकास र बृद्धिका लागि आवश्यक सहकारी शिक्षा र चेतनाको अभाव भएका सदस्यहरु, संस्था संचालनका लागि आधारभूत सीप नभएका संचालकहरु, सहकारी सम्बन्धि कानूनी अस्पष्टता, सहकारी भनेका सरकारी अनुदान प्राप्त गर्ने एक माध्यम मात्र हो भनी परनिर्भर मानसिकता भएका सदस्यहरुबाट सहकारी संस्थाको बृद्धि, विकास सम्भव हुन सक्दैन ।

साक्षरता प्रतिशत न्यून भएको हाम्रो जस्तो देशमा सहकारीका सम्पूर्ण सदस्यहरु शिक्षित, चेतनशील, क्षमतावान् हुन सम्भव छैन र भएका सिमित जनशक्ति पनि नेपालको शिक्षा प्रणाली सैद्धान्तिक मात्र भएको र सहकारी सम्बन्धि शिक्षाको ब्यवस्था निकै पछि मात्र आरम्भ भएकाले सहकारी सम्बन्धि दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन । प्रवृत्तिगत रुपले सहकारी क्षेत्रमा लाग्ने भनेको अवकास प्राप्त जनशक्ति र राजनीतिक क्षेत्रमा लागेर सफल हुन नसकेका ब्यक्तिहरु हुनु हाम्रो देशको सहकारी आन्दोलनको अर्को कमजोरी रही आएको छ । यसरी संस्थागत कमजोरीको अवस्थामा सहकारी क्षेत्रको विकास सम्भव हुन सक्दैन।
सहकारी क्षेत्रलाई प्रतिश्पर्धी र आत्मनिर्भर बनाउनका लागि तुलात्मक रुपले शिक्षित युवा वर्गलाई सहकारी क्षेत्रमा आकर्षित गर्न जरुरी छ । युवा वर्गलाई सहकारी क्षेत्रमा आकर्षित गर्न सकेमा उनीहरुले प्राप्त गरेको शिक्षालाई सहकारी आन्दोलनमा प्रयोग गर्न सकिन्छ । जुन शिक्षाको माध्यमले सहकारी क्षेत्रलाई प्रतिश्पर्धी बनाउन सकिन्छ । शिक्षित सहकारी सदस्यहरु मार्फत सहकारी शिक्षा र तालिमलाई प्रत्येक सदस्यको घरघरमा फैलाउन सकिन्छ । ब्यवसायिक योजना नबनाई, सरकारले केही दिन्छ की भनी मुख ताकेर वस्ने अवस्था रहँदा सम्म सहकारी क्षेत्रले नेपालमा फड्को मार्न सक्दैन । सहकारी क्षेत्रको विकासको लागि सरकारी, गैर सरकारी वा अन्य कुनै पक्षसँग केही अनुदान, सहयोगको आशा नगरी आफ्नै संस्थाको क्षमताले ब्यवसायिक योजना निर्धारण गरी कसरी बढी भन्दा बढी प्रतिफल आर्जन गर्न सकिन्छ भनी अभ्यास गर्न सकेमा सहकारी क्षेत्र पनि अन्य क्षेत्रसंग प्रतिश्पर्धी हुन सक्छ र प्रतिश्पर्धात्मक वातावरणमा मात्र सहकारी क्षेत्रले विकासको ठूलो फड्को मार्न सक्दछ । त्यसका लागि सहकारीलाई हाँक्न सक्ने युवा जोश, सहकारी शिक्षा र तालिम प्राप्त गरेका र ब्यवसायिक क्षमता भएका शिक्षित युवा जनशक्तिको आवश्यकता हुन्छ । जुन जनशक्तिले मात्र सहकारी आन्दोलनमा तात्विक फरक पार्न सक्दछन् ।
युवाहरुको संलग्नताले सहकारी क्षेत्रको विकास मात्र नभई सहकारीमा रही काम गर्दा अनुभव प्राप्त गर्न नसकेका कोरा सैद्धान्तिक ज्ञान मात्र प्राप्त गरेका युवाहरुलाई आफ्नो ज्ञान, सीप र क्षमता प्रयोग गरी ब्यक्तित्व विकास गर्ने अवसर प्राप्त हुन्छ । सही तवरले संचालन गर्न सकेमा सहकारी एक बहुमुखी क्षेत्र हो। सहकारीले ब्यवसाय संचालन गर्न सिकाउँछ । रोजगारीको सिलसिलामा जुन सुकै स्थानमा जाँदा पनि अनुभव नभएका ताजा उम्मेदवारलाई काममा राख्न कुनै पनि संघसंस्था तयार हुँदैनन् । यस्तो समस्या समाधान गर्न पनि सहकारी एउटा महत्वपूर्ण मञ्च हुन सक्दछ । सहकारीले योजना तर्जुमा, योजना छनौट, योजना कार्यान्वयन, योजना अनुगमन, योजना मूल्यांकन, समीक्षा जस्ता सीप सिकाउछ । सहकारीले कसरी बढी भन्दा बढी प्रतिफल प्राप्त गर्नका लागि कस्ता कस्ता रणनीति, दीर्घकालिन योजना, कार्यक्रम संचालन गर्नुपर्छ भन्ने अभ्यास गर्ने अवसर प्रदान गर्दछ । विश्वविद्यालय, महाविद्यालयमा सिकेका ज्ञान र सीपलाई व्यवहारिक कसीमा परीक्षण गर्दै आफ्नै समुदायको फाइदाका लागि काम गर्न सहकारीले युवालाई मञ्च प्रदान गर्दछ। सहकारीले समूहमा काम गर्ने, सामुहिक हितलाई प्रवर्धन गर्ने क्षमताको विकास गराउँछ जसले युवाको सीप, क्षमता, ब्यक्तित्वको विकास गराउँछ । यसरी सहकारी युवाहरुको लागि एक सिक्ने, बुझ्ने अवसर पनि हुन्छ । सहकारीमा सिकेका सीप, क्षमतालाई देशका विभिन्न स्थानमा विकास कार्यमा प्रयोग गर्न सकेमा समग्र देश विकासमा सहकारी अनुभव उपयोगी हुन सक्दछ । सहकारी विकासका लागि युवाहरुको संलग्नताले महत्वपूर्ण भूमिका खेल्दछ । युवाहरुको संलग्नताबाट मात्र सरकारले सहकारीमार्फत पुरा गर्ने भनी लिएका लक्ष्य सहज रुपमा पुरा हुन सक्दछ भने बेरोजगारीको बढ्दो समस्या समाधान गर्न युवाहरुको ब्यक्तित्व विकासका लागि सहकारी एक महत्वपूर्ण मञ्च हुन सक्दछ ।
जय सहकारी !

Comments

  1. राम्रो र वास्तविक लाग्यो

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋ...

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१)मा सहकारी क्षेत्र

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) मा सहकारी क्षेत्र                                                                               - दामोदर पंगेनी नेपालले राष्ट्रिय योजना आयोग मार्फत आवधिक रुपमा योजना निर्माण गरी कार्यान्वयन गर्दछ। वि.सं. २०१३ साल देखि निरन्तर पञ्चवर्षिय र त्रिवर्षिय योजना मार्फत देश विकासका लागि योजना निर्माण गर्दै कार्यान्वयन गरिरहेको परिप्रेक्ष्यमा पन्धौं योजना (२०७६/७७ देखि २०८०/८१) चालु आर्थिक बर्ष देखि कार्यान्वयमा रहेको छ। राष्ट्रिय योजना आयोगले १४ औं योजना (२०७३/७४ देखि २०७५/७६) लाई समीक्षा गर्दै चालु पन्ध्रौं योजनामा सहकारी क्षेत्रका लागि निर्धारण गरेका लक्ष्य, उद्देश्य, रणनीतिहरु र कार्यनीतिहरु निम्न अनुसार रहेका छन्।  १४ औं योजनाको अन्त्यमा राष्ट्रिय योजना आयोगले सहकारी क्षेत्रलाई यसरी समीक्षा गरेको छ। आ.व. २०७४/७५ मा सहकारी संस्थाको ...

‘रुपन्देही–जिल्ला एक परिचय अनेक’

–दामोदर पंगेनी एसियाका ज्योति गौतम बुद्धको जन्मस्थल पवित्र धार्मिक स्थल लुम्बिनीलाई आफ्नो मुटुमा संगालेको ‘रुपन्देही’ नेपालको एक महत्वपूर्ण जिल्लाको रुपमा परिचीत छ । पश्चिमाञ्चल विकासक्ष्ँेत्रको लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही १३६० वर्ग किमी ओगटेको मध्यम आकारको जिल्ला हो । नेपालको सवभन्दा लामो महेन्द्र राजमार्गले पूर्व पश्चिम काटेको र अर्को महत्वपूर्ण सिद्धार्थ राजमार्ग यसै जिल्लाको वेलहिया देखि शुरुवात हुनुको साथै जिल्ला सदरमुकाम भैरहवामा विमानस्थल रहेको छ । जातिय तथा भाषिक विविधता बोकेका नेपालका अन्य जिल्लाझै यस जिल्लामा पनि विभिन्न जातजाति तथा भाषाभाषिको वसोवास रहेको छ । वसोवासको बनौट हेर्दा जिल्लाको पूर्वोत्तर भागमा पहाडी मूलका र पश्चिमी भागमा आदिवासी थारु जातिको बाहुल्यता रहेको छ । राजनीतिक दृष्टिकोणले यस जिल्लालाई सात निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ भने यस जिल्लामा कुल ६९ गाविस तथा बुटवल र सिद्धार्थनगर गरी २ नगरपालिका रहेका छन् । ७,०८,४१९ जनसंख्या रहेको जिल्लामा जनसंख्या मध्ये ६६.२ प्रतिशत जनसंख्या साक्ष्ँर रहेको छ । मुख्यतः लुम्बिनी अञ्चलका अन्य जिल्लाका साथै गण्डकी र ...