Skip to main content

सीपमूलक तालिमलाई उपलब्धिमूलक कसरी बनाउने ?

संचालित तालिम सयौं तर उपलब्धी शुन्य ! हाम्रो शैली बदलौं !!
                                                                                                                                    - दामोदर पंगेनी
तालिम किन भन्ने प्रश्न कसैले सोध्ने हो भने एक श्वासमा दिने उत्तर हुने गर्दछ ः सीप सिकाएर, उपलब्ध साधन र स्रोत परिचालन गर्दै, उत्पादन मार्फत स्वरोजगारी सिर्जना गरी, आम्दानी बृद्धि गराउने र बेरोजगार जनशक्तिलाई आत्मनिर्भर गराउँदै आर्थिक उन्नति गर्ने र गरिबी निवराण गर्ने । यही उद्देश्यका साथ हरेक वर्ष स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारले तालिम संचालन गर्दछ। गैरसरकारी संस्था, निजी क्षेत्र र सहकारी क्षेत्रबाट तालिम आयोजना गरिन्छ। तामझामका साथ तालिम चलाउने र तालिमका सहभागीलाई प्रमाणपत्र र सम्भव भएसम्म केही बिउपूँजी उपलब्ध गराइन्छ र आत्मनिर्भरता र गरिबी निवारणको लागि योगदान गरेको दावी गरिन्छ।

तालिमको उपलब्धीको समीक्षा गर्ने समय आउँछ, समीक्षा गर्दा जानकारी हुन्छ तालिम लिएका मध्ये कसैले पनि उत्पादन गरेनन्, कोही पनि रोजगारी बजारमा बिक्न सकेन। तालिममा गरेको लगानी खेर गयो। तालिमबाट उपलब्धी शुन्य भयो । २०-२५ जना सहभागीलाई तालिम दिईसकेपछि चार पाँच जना सम्मले केही गरे त उपलब्धी मान्न सकिन्थ्यो तर सहभागी कोही असल परेनन् आजकाल कसैले मेहनत गर्न चाहन्न। नेपालीले नेपालमा दुख गर्दैनन् नेपाली सुध्रिने अरब र मलेसिया गएर मात्र हो भन्ने भनाईका साथ चित्त बुझाई पुन आगामी वर्ष विभिन्न शीर्षकका तालिम संचालन गरिन्छ। 

लामो समय देखि यो उपलब्धीहिनताको श्रृंखला चलिरहेको देखिन्छ। यो श्रृंखलाले गर्दा हामीले अब हाम्रा तालिम चलाउने विषयलाई पुनरावलोकन गरी गरिएको लगानीलाई प्रतिफलमूलक बनाउन प्रयास गर्नु पर्दछ। एउटा भनाई छ सफलता मिलेन भन्दैमा उद्देश्य बदल्ने होइन काम गर्ने तरिका बदल्नु पर्दछ। यही भनाईलाई सम्झेर तालिम आयोजनक संस्थाहरुले काम गर्ने तरिका बदल्ने हो भने तालिम संचालनको उद्देश्य पुरा गर्न सकिन्छ।

तालिम प्रतिफल बढाउनका लागि मूल्य श्रृंखला विधिको उपयोग गरौं ।

Value Chain Diagram
स्थानीय, प्रादेशिक र संघीय सरकार, सहकारी, निजी क्षेत्र, गैरसरकारी संस्थाहरुले बिपन्न बर्गको आर्थिक स्थिति माथि उठाउन, बेरोजगारीलाई स्वरोजगारी सिर्जना गर्न र स्वदेशी उद्योग, व्यापार, व्यवसायीलाई जनशक्ति उपलब्ध गराउन सीप हस्तान्तरण मार्फत क्षमता विकास अत्यावश्यक छ। जनशक्तिलाई सीप सिकाउँदै, रोजगारी बजारमा सफल बनाउन र स्वरोजगार बनाई आत्मनिर्भर बनाउनका लागि तालिम जति धेरै चलाउन सक्यो उति राम्रो हुन्छ तर तालिम चलाउने तरिकामा भने परिवर्तन आवश्यक छ। अबका दिनमा तालिम चलाउँदा मूल्य श्रृंखला विधिलाई पालना गर्न सकियो भने तालिमको प्रतिफल अवश्य बढाउन सकिन्छ।

बजारले कस्तो उत्पादन खोजिरहेको छ पहिचान गरी मात्र तालिम संचालन गरौं।
महिलाका लागि तालिम भन्ना साथै सिलाई कटाई, ब्यूटीपार्लर, बुटिक अनि गुडिया बनाउने तालिम, पुरुषको तालिम भनेपछि वायरिङ, इलेक्ट्रिक तालिम चलाईहाल्ने हाम्रो प्रवृति छ। बजारमा उद्योग, व्यापार चलाउनेहरुले कस्तो सीप भएका कामदार खोजिरहेका छन् भन्ने विषयमा हामी अध्ययन गर्दैनौ जसले गर्दा तालिम लिएका व्यक्ति बेरोजगार छन् भएका उद्योग, व्यापारिक क्षेत्रले चाहिने कामदार स्वदेशमा नपाई विदेशी कामदार झिकाउनु परेको छ। बजारको माग नबुझ्दा हाम्रा तालिम लिएका व्यक्तिले उत्पादन गरेको सामाग्रीले बजार पाएको छैन । बजारले चाहेको उत्पादन नहुँदा सामाग्री विदेशबाट आयात गर्नु परेको छ। यस्तो अवस्था नहोस भन्नका लागि सर्वप्रथम तालिम चलाउनु पूर्व बजारको माग बुझ्न जरुरी छ। बजारले खोजेको सीप दिन सकियो भने रोजगारी बजारमा जान र स्वरोजगार बन्न सरल हुन्छ।

वास्तविक लक्षित वर्गलाई सीप हस्तान्तरण गरौं।
स्थानीय सरकारले चलाउने तालिम होस् वा सहकारी संस्थाले चलाउने तालिम अथवा सामाजिक संस्थाले चलाउने तालिम जुनसुकै तालिममा केही टाढाबाठा व्यक्ति भनाउँदाले सहभागिता गरेको देखिन्छ। सिलाईकटाई तालिम लिएको छ, व्युटिपार्लर तालिम लिएको छ, गुडिया तालिम लिएको छ, कूक तालिम पनि लिएको छ। तर तालिम लिएर व्यवसाय संचालन गरेको छैन। रोजगारीको लागि गएको छैन। नयाँ तालिम संचालन हुँदा पनि नाम लेखाएकै छ। यस्तै प्रवृतिले गर्दा वास्तविक लक्षित वर्गको तालिममा पहुँच हुन सक्दैन। तालिम लिनेले केही नगर्ने, केही गर्छु भन्नेले तालिम लिने अवसर नपाउनाले पनि तालिमको उपलब्धीलाई घटाइरहेको छ। त्यस्तो नहुनका लागि कठोरतापूर्वक मापदण्ड बनाएर वास्तविक लक्षित वर्गबाट सहभागी छनौट गर्नु पर्दछ। 

कच्चा पदार्थ र बित्तीय सेवा स्थानीय बजारमै उपलब्ध गराऔं।
तालिम संचालन गरिन्छ, तालिमको अन्तिममा केही सामाग्री हस्तान्तरण गरिन्छ। त्यसपछि सहभागीले वस्तु उत्पादन गर्न चाहे भने चाहिने कच्चा पदार्थ स्थानीय बजारमा उपलब्ध हुँदैन, सामाग्री पाइए पनि गुणस्तरीय हुँदैन जसले गर्दा तालिम लिएर केही गर्छु भन्नेलाई पनि उत्पादनमा जान कठिनाई छ। अगरबत्ती बनाउने तालिम लिएका सदस्य कच्चा पदार्थ लिन सधै टाढाका बजार र भारतीय बजार जान सक्दैनन् जाँदा लागत धेरै पर्दछ भन्ने नबुझ्दा उत्पादित सामाग्रीले बजारमा भएका उस्तै उत्पादन संग प्रतिस्पर्धा गर्न सकिरहेको हुँदैन। यस्तो बाधा हटाउनका लागि तालिम चलाईसकेपछि गुणस्तरीय कच्चापदार्थको उपलब्धता स्थानीय बजारमै गराउनु पर्दछ। उत्पादनमा जान चाहनेलाई चाहिने ऋणको सुविधा स्थानीयरुपमै उपलब्ध गराउनु पर्दछ। जसले गर्दा उत्पादनमा जान चाहने तालिम लिएका सहभागीलाई अगाडि बढ्न सहज होस्। 

बजारले खोजेको गुणस्तरीय र बजार संग प्रतिस्पर्धा गर्न सक्ने मूल्यमा उत्पादन गरौं।
तालिम लिनु मात्र ठूलो विषय होइन, तालिम लिएकाले उत्पादन गरेको बस्तु र सेवा अन्य सेवा प्रदायकले गरेको उत्पादन संग प्रतिस्पर्धा गर्न सक्ने हुनु पर्दछ। स्थानीयले, केही नातेदार र छरछिमेकीले एकपटकलाई प्रोत्साहन गर्नका लागि कम गुणस्तरीय सामाग्री भए पनि खरीद गर्न सक्दछन् तर हरेक पटक कम गुणस्तरीय सामाग्री उत्पादन गर्नेको वस्तु र सेवा दीगो रुपमा जान सक्दैन। त्यसैले समय समयमा बजारको अध्ययन अवलोकन गर्ने, ग्राहकसंग पृष्ठपोषण लिने  र बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अगाडि बढाउनु पर्दछ। यसका लागि स्थानीय सरकार, सहकारी, सामाजिक संस्था र निजी क्षेत्रले लक्षित वर्गलाई अवसर दिनु पर्दछ।

बजार प्रवद्र्धनका कार्य गरौं।
तालिम दिईसकेपछि सहभागीले उत्पादन गरेका सामाग्र्री अपेक्षित ग्राहकसंग पु¥याउनु पर्दछ। ग्राहकलाई भएका उत्पादन बारे विभिन्न माध्यमबाट जानकारी गराउनु पर्दछ। विश्वब्यापीकरणको युगमा उत्पादक एउटा मात्र हुँदैन, अन्य संग प्रतिस्पर्धा गर्न हाम्रो उत्पादनमा राम्रो विशेषता के छ बुझाउन आवश्यक हुन्छ। त्यसका लागि बजार प्रवद्र्धन गरी उत्पादकलाई सहयोग पु¥याउनु पर्दछ ।

तयारी सामाग्री विक्री गर्न बिक्री केन्द्र संचालन गरौं।
तालिम दिइयो। कच्चापदार्थ र बित्तीय सुविधा दिइयो, सामाग्री उत्पादन गरियो, प्रचार प्रसार गरियो। अपेक्षित ग्राहकले सामाग्री किन्न चाहँदा कहाँबाट किन्ने भन्ने स्पष्ट पार्न सक्नु पर्दछ। सबै तालिम लिएका सहभागीले पसल संचालन गर्न सक्दैनन् उनीहरुले उत्पादन गरेका सामाग्री कहाँ कसलाई बेच्ने भन्ने स्थान उपलब्ध गराउन सकियो भने उत्पादकले बिक्री गर्न सरल हुन्छ र क्रेताले पनि उक्त स्थानमा गई सामाग्री खरीद सजिलै गर्न सक्दछन्।
मूल्य श्रृंखलाका यी चक्रलाई ध्यानमा राखी सदस्य आत्मनिर्भरताको तालिम चलाउने हो भने संस्थाहरुले गरेको लगानी खेर जाने छैन। जनशक्तिलाई स्वरोजगार बनाउँदै आत्मनिर्भर बनाई गरिवी घटाउने, आर्थिक कल्याण गर्ने तालिम संचालनको उद्देश्य पुरा हुने छ।

समन्वयको खाँचो ।
तालिमका कार्यक्रम एउटा संस्थाबाट मात्र संचालन हुने होइन, सहकारी संस्थाबाट, संघीय सरकार, प्रादेशिक सरकार, स्थानीय सरकारबाट, गैरसरकारी संस्था, निजी क्षेत्रले बर्षेनी तालिम संचालन गर्दछन्।मूल्य श्रंखलाका सबै पक्षलाई पुरा नगरी सबैले एउटै कामको रुपमा सीप हस्तान्तरण मात्र गर्दा त्यसले उपलब्धि दिन सकेको छैन। यस्तो उपलब्धीबिहिन अवस्थाबाट पार पाउनका लागि तीनै तहका सरकार, सहकारी क्षेत्र, निजी क्षेत्र, गैरसरकारी संस्था, सामाजिक संस्था मिलेर काम बिभाजन गरी अघि बढ्नु आवश्यक छ। सबैले एउटै काम नगरी बजार खोज्ने अनुसन्धानका कार्यक्रम सरकारले अघि बढाउने, सीप सिकाउने र आवश्यक सामाग्री उपलब्ध गराउने काम निजी क्षेत्रले गर्ने, लक्षित वर्गको पहिचान गर्ने, बित्तीय सेवा उपलब्ध गराउने, तयारी सामाग्री बिक्री गर्न सहकारी मार्फत गर्ने, सहकारीलाई प्राविधिक र पूँजीगत सहयोग गैरसरकारी संस्थाहरुले उपलब्ध गराउने गरी कार्य बिभाजन गर्न सकिन्छ। यसका लागि सम्बन्धित सरोकारवाला एकै टेबलमा बसेर समन्वय अघि बढाउन सके सबैले चाहेको सीप मार्फत स्वरोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने उद्देश्य पुरा गर्न सकिन्छ। 

अन्त्यमा हामी सबैले एक विषयलाई स्मरण गरौं। हामीले तालिम लिएका सहभागीलाई शुभकामना दिएको समयमा उत्पादनमा लाग्नुस भन्दै गर्दा ढुक्कका साथ भन्न सकौं “तपाईहरुले उत्पादनमा  लाग्नुस, कच्चा पदार्थ, ऋण यहाँबाट लिनुस्, यस्तो गुणस्तरको सामाग्री उत्पादन गर्नुस्, तपाईहरुको उत्पादन यो मूल्यमा जति परिमाणमा भए पनि खरीद गर्न हामी छौं।” यति भन्न सकेको दिन हाम्रा तालिमले सदस्य, समाज र देशलाई हामीले सोचेको जस्तो उपलब्धी पक्कै दिन सक्नेछ।

Comments

Post a Comment

Popular posts from this blog

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋ...

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१)मा सहकारी क्षेत्र

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) मा सहकारी क्षेत्र                                                                               - दामोदर पंगेनी नेपालले राष्ट्रिय योजना आयोग मार्फत आवधिक रुपमा योजना निर्माण गरी कार्यान्वयन गर्दछ। वि.सं. २०१३ साल देखि निरन्तर पञ्चवर्षिय र त्रिवर्षिय योजना मार्फत देश विकासका लागि योजना निर्माण गर्दै कार्यान्वयन गरिरहेको परिप्रेक्ष्यमा पन्धौं योजना (२०७६/७७ देखि २०८०/८१) चालु आर्थिक बर्ष देखि कार्यान्वयमा रहेको छ। राष्ट्रिय योजना आयोगले १४ औं योजना (२०७३/७४ देखि २०७५/७६) लाई समीक्षा गर्दै चालु पन्ध्रौं योजनामा सहकारी क्षेत्रका लागि निर्धारण गरेका लक्ष्य, उद्देश्य, रणनीतिहरु र कार्यनीतिहरु निम्न अनुसार रहेका छन्।  १४ औं योजनाको अन्त्यमा राष्ट्रिय योजना आयोगले सहकारी क्षेत्रलाई यसरी समीक्षा गरेको छ। आ.व. २०७४/७५ मा सहकारी संस्थाको ...

‘रुपन्देही–जिल्ला एक परिचय अनेक’

–दामोदर पंगेनी एसियाका ज्योति गौतम बुद्धको जन्मस्थल पवित्र धार्मिक स्थल लुम्बिनीलाई आफ्नो मुटुमा संगालेको ‘रुपन्देही’ नेपालको एक महत्वपूर्ण जिल्लाको रुपमा परिचीत छ । पश्चिमाञ्चल विकासक्ष्ँेत्रको लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही १३६० वर्ग किमी ओगटेको मध्यम आकारको जिल्ला हो । नेपालको सवभन्दा लामो महेन्द्र राजमार्गले पूर्व पश्चिम काटेको र अर्को महत्वपूर्ण सिद्धार्थ राजमार्ग यसै जिल्लाको वेलहिया देखि शुरुवात हुनुको साथै जिल्ला सदरमुकाम भैरहवामा विमानस्थल रहेको छ । जातिय तथा भाषिक विविधता बोकेका नेपालका अन्य जिल्लाझै यस जिल्लामा पनि विभिन्न जातजाति तथा भाषाभाषिको वसोवास रहेको छ । वसोवासको बनौट हेर्दा जिल्लाको पूर्वोत्तर भागमा पहाडी मूलका र पश्चिमी भागमा आदिवासी थारु जातिको बाहुल्यता रहेको छ । राजनीतिक दृष्टिकोणले यस जिल्लालाई सात निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ भने यस जिल्लामा कुल ६९ गाविस तथा बुटवल र सिद्धार्थनगर गरी २ नगरपालिका रहेका छन् । ७,०८,४१९ जनसंख्या रहेको जिल्लामा जनसंख्या मध्ये ६६.२ प्रतिशत जनसंख्या साक्ष्ँर रहेको छ । मुख्यतः लुम्बिनी अञ्चलका अन्य जिल्लाका साथै गण्डकी र ...