Skip to main content

गौतमबुद्ध सहकारी ब्राण्ड स्थापित गरौं ।

- गौतमबुद्ध सहकारी ब्राण्ड स्थापित गरौं ।


दामोदर पंगेनी 

महासचिव-जिल्ला सहकारी संघ लिमिटेड रुपन्देही

रुपन्देही जिल्ला सहकारीको उर्वर भूमि हो। १ जिल्ला सहकारी संघ, ५ वटा विषयगत सहकारी संघ, १ विशिष्टीकृत सहकारी संघ तथा ९०० भन्दा बढी प्रारम्भिक सहकारी संस्था क्रियाशील रहेको रुपन्देही सहकारी सदस्यको विशाल संगठन निर्माण गर्न र ठूलो पूँजी निर्माणमा सफल रहेको छ। 

रुपन्देही जिल्ला प्रशासनिक दृष्टिकोणले लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो जनसंख्या भएको र आर्थिक गतिविधि हुने जिल्ला तथा भारतसंग कारोबारको दृष्टिकोणले बिरगञ्ज पछिको महत्वपूर्ण सीमा नाकाको रुपमा रहेको छ।रुपन्देही प्रदेशका अन्य ११ जिल्ला संग सडक यातायातको सञ्जालले जोडिएको छ। व्यापारिक दृष्टिकोणले भारतसंग बैदेशिक ब्यापारका साथै गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल मार्फत भारत बाहेकका देश संग ब्यापारिक सम्भावना युक्त रहेको छ।

रुपन्देहीमा सहकारी क्षेत्रबाट पूँजी निर्माण भईसकेको, सहकारीको एक सशक्त संरचना बनिसकेको अवस्थामा सहकारी क्षेत्रले बचत जम्मा गर्ने र ऋण लगानी गर्ने कार्य मात्रले सहकारी स्थापनाको उद्देश्य पुरा हुन सक्दैन। कृषि सहकारी, दुग्ध सहकारी, सामाजिक उद्यमी सहकारी, बहुउद्देश्यीय सहकारी वा अन्य विषयको सहकारी संस्था वा संघ स्थापना गर्ने तर कारोबार बचत तथा ऋणको मात्र गर्ने प्रबृत्तिले संविधानले अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा दिएको पहिचान र मान्यतालाई न्याय हुन सक्दैन।

नयाँ सहकारी ऐन २०७४ आइसकेपछि सहकारी व्यवसाय गर्नका लागि विशिष्टीकृत सहकारी संघ स्थापना गरी सहकारी व्यवसाय संचालन गर्न सकिने कानूनी प्रावधान भएकोले रुपन्देही जिल्ला तथा लुम्बिनी प्रदेशका अन्य ११ जिल्लाका सहकारी संघ तथा संस्थाहरुको सहभागितामा गौतमबुद्ध ब्राण्डमा सहकारी व्यवसाय संचालन गर्न सकिन्छ। संस्थालाई शेयर लगानीको सीमा २० प्रतिशत रहेता पनि सरकारी निकायको हकमा सीमा नरहेकाले पालिका तथा प्रदेश सरकारले समेत शेयरमा लगानी गरी सहकारी व्यवसाय स्थापना र संचालनमा योगदान गर्न सकिने कानूनी आधार रहेको छ।

सहकारीको व्यापक फाइदा सहकारीका सदस्यले पाउनका लागि सहकारी क्षेत्रले बचत तथा ऋणका कार्यक्रम बाहेकका व्यवसायिक कार्यक्रमहरु संचालन गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो। जसका लागि गौतमबुद्ध सहकारी ब्राण्डमा सहकारीका उत्पादन बजारीकरण गर्नु सहकारी क्षेत्रको लागि व्यवसायिक सम्भावनाको क्षेत्र हो। जसका लागि रुपन्देही सहकारी संघ र संस्थाले पहलीकदमी लिँदै प्रदेशका ११ जिल्लाका सहकारी संघ र संस्था तथा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको सहयोगमा विशाल बहुउद्देश्यीय गौतमबुद्ध सहकारी परियोजना संचालन गर्न सकिन्छ।

गौतमबुद्ध सहकारी ब्राण्ड

१६ पालिकामा १६ संकलन केन्द्र

रुपन्देहीका १६ पालिकामा कम्तीमा १ वटा कृषि उपज संकलन केन्द्र स्थापना गरौं। कृषकले तयार गरेका उत्पादनलाई सहकारी माध्यमबाट खरीद विक्री गर्न सकिने संरचना तयार गरौं। कृषकले घरमा खाएर बचेको १ किलो घिरौंला, १ मुठा बेथे साग, २ केजी मूला, १ लिटर तेल, धान, गहुँ, जौ, मकै वा जुनसुकै कृषि उत्पादन बेच्न पाउन। चाहिने कृषि औजार, औषधी, मल, बीउ र परामर्श खरीद गर्न पाउन। 

संकलन केन्द्रले आफ्नो पालिकाको उत्पादन जिल्लाको प्रदर्शनी केन्द्रमा दैनिक लैजानेछ। पालिकाको गाडी आफ्नो पालिकाको उत्पादन लिएर जिल्लाको केन्द्रमा गएको छ, त्यही गाडीले फर्किदा आफ्नो पालिकामा माग रहेको वस्तुहरु ल्याएर सदस्य तथा कृषकहरुलाई सेवा उपलब्ध गराउनेछ।

सुविधा सम्पन्न केन्द्रीय भण्डारण, स्तरीकरण (ग्रेडिङ) प्रशोधन र प्याकेजिङ केन्द्र 

१६ पालिकाले उत्पादन गरेका वस्तुलाई भण्डार गर्न, स्तरीकरण (ग्रेडिङ) गर्न र आवश्यकता अनुसार प्रशोधन तथा प्याकेजिङ गर्न १ सुविधा सम्पन्न स्थल तयार गरौं। सुविधासम्पन्न चिस्यान सहितको विशाल भण्डारणमा
पालिकाका उत्पादकको सामाग्रीलाई भण्डार गरी बढी गुणस्तर अनुसार उत्पादनलाई स्तरीकरण गरी देशका अन्य भागमा पठाउने उत्पादन, अरब पठाउने उत्पादन, अमेरिका युरोप पठाउने उत्पादन, जापान पठाउने उत्पादन, भारत बंगलादेश पठाउने उत्पादनमा विभाजन गरौं। देशको मापदण्ड अनुसार प्रशोधन र प्याकेजिङ गरौं। जिल्लाको केन्द्रीय १६ ब्लकको विक्री केन्द्रको नजिक हुने गरी भण्डारण, स्तरीकरण, प्रशोधन र प्याकेजिङ केन्द्र खोलौं।

भैरहवामा १६ ब्लक हुने ९ तले अन्तराष्ट्रिय प्रदर्शनी तथा विक्री केन्द्र

जिल्ला सहकारी संघ लिमिटेडको भैरहवामा रहेको ४ कठ्ठामा जमिनमा १ पालिकाले १ ब्लक पाउने गरी १६ ब्लकको अन्तराष्ट्रिय प्रदर्शनी तथा बिक्री केन्द्र स्थापना गरौं। जहाँ पालिकामा भएको उत्पादनलाई आआफ्नो पालिकाको व्लकमा राखी गुणस्तरीय वस्तुहरु विक्री गरौं। उत्पादन भएका वस्तुलाई सहकारीका सदस्यले प्रतिस्पर्धीमूल्यमा पाउने व्यवस्था मिलाऔं। घुम्नका लुम्बिनी आउने स्वदेशी तथा विदेशीले एक पटक पस्नै पर्ने स्थल रहेछ भन्ने व्यवसायिक वातावरण सिर्जना गरौं। नेपालबाट भिड लागेर सुनौली (भारतीय बजार) सामान किन्न जाने चलन जस्तै गुणस्तरीय सहकारी उत्पादन किन्न त भैरहवाको अन्तराष्ट्र्रिय प्रदर्शनी तथा विक्री केन्द्र जानु पर्ने रहेछ भन्ने बुझेर भारतका ग्राहकको समेत भिड लाग्ने व्यवसायिक वातावरण सिर्जना गरौं।

गौतम बुद्ध अन्तराष्ट्र्रिय विमानस्थलबाट गौतम बुद्ध ब्राण्डको निर्यात

जिल्ला तथा लुम्बिनी प्रदेशका अन्य जिल्लाका सहकारी संस्थालाई सहभागी बनाई तयार भएका उत्पादनलाई गुणस्तर अनुसार विदेशमा निर्यात गरौं। विकसित देशमा निर्यात गर्न आवश्यक पर्ने गुणस्तरको मापदण्ड अनुसार वस्तु उत्पादन, स्तरीकरण, प्रशोधन तथा प्याकेजिङ गरी ती देशमा सहकारी सञ्जाल मार्फत निर्यात गर्ने व्यवसाय गरौं। युवा निर्यात गर्ने मात्र होइन, गौतम बुद्ध सहकारी ब्राण्डमा विदेशमा नेपाली उत्पादन निर्यात गरौं। गौतमबुद्ध सहकारी ब्राण्डले देशलाई बिदेशी मुद्रा दिने मात्र होइन लुम्बिनी घुम्न आउने पर्यटकको संख्यामा समेत उल्लेखनीय बृद्धि गराउने छ।

पूँजीको व्यवस्थापन

गौतमबुद्ध सहकारी ब्राण्डमा सहकारी व्यवसाय संचालन गर्न ठूलो पूँजीको आवश्यकता पर्दछ। जसलाई जिल्लामा रहेको १ जिल्ला सहकारी संघ, ५ विषयगत संघ र ९०० भन्दा बढी सहकारी संस्था तथा १६ पालिका, प्रदेश सरकार र संघीय सरकार मिलेर सहजै व्यवस्थापन गर्न सकिन्छ। व्यवसायिक सोंच राखेर सहकारी, सरकारी र विकासका साझेदार मिलेर गौतमबुद्ध सहकारी ब्राण्ड व्यवसाय संचालन गरी लुम्बिनी प्रदेशकै मुहार फेर्ने साहस र इच्छाशक्ति भने सबै सरोकारवालामा चाहिन्छ।

यस्तो प्रकृतिको विशाल बहुउद्देश्यीय परियोजना संचालन गर्न ठूलो प्राविधिक विज्ञता र सहकार्यको आवश्यकता पर्दछ। जसका लागि कृषि तथा सहकारीको क्षेत्रमा धेरै बहुपक्षिय र अन्तराष्ट्र्रिय विकासका साझेदार संस्थाहरुले सहयोग उपलब्ध गराउन सक्दछन्। यो परियोजना सम्पन्न गर्न देशमा नभएको, सहकारीका पदाधिकारीमा नभएको ज्ञान, सीप, क्षमता सिक्न सिकाउन तथा परियोजना कार्यान्वयन गर्दै जाँदा आईपर्ने चुनौतीको सामना गर्न विकासका साझेदारबाट प्राविधिक टेवा लिन सक्छौं। सहयोगका लागि उपलब्ध गराएको रकमको उपलब्धी देखाउने ठोस नतिजा देखाउन नपाएर एउटै दृष्यको ५ र ६ कोणबाट तस्वीर देखाउने वाध्यतामा परेका विकासका साझेदारहरुको लागि पनि यो परियोजना एउटा मुहार फेर्ने कार्यक्रम हुन सक्दछ। 

गौतमबुद्ध सहकारी ब्राण्डमा सहकारी परियोजना संचालन गर्न पूँजीको व्यवस्थापन यसरी गर्न सकिन्छ।


परियोजनाको उपलब्धी

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशमा १२ जिल्ला रहेका छन्। पहाडी जिल्ला रुकुम पूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, गुल्मी गरी ६ जिल्ला र तराईका वर्दघाट सुस्ता पश्चिम, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके र बर्दिया गरी ६ जिल्ला रहेका छन्। 

फरक भूगोलको कारणले पहाडमा हुने उत्पादन तराईमा हुँदैन र तराईमा हुने उत्पादन पहाडमा हुँदैन। सहरी जनसंख्या ५५.२ र ग्रामीण जनसंख्या ४४.८ रहेको हुनाले ग्रामीण उत्पादनलाई सहरी क्षेत्रमा खपत गर्न र सहरी उत्पादनलाई गाउँसम्म उपलब्ध गराउने माध्यमको रुपमा सहकारी क्षेत्रले काम गर्न सक्दछ।

जसले गर्दा पहाडी जिल्ला तराईको उपभोक्ता र तराई पहाडको लागि उपभोक्ता बन्न सक्छ। ५१,२२,०७८ जनसंख्या रहेको लुम्बिनी प्रदेशमा आन्तरीक खपतको दृष्टिकोणले पनि सहकारी उत्पादन खपतको बृहत सम्भावना रहेको छ। ६०.३ प्रतिशतले कृषि पेशा गर्ने लुम्बिनी प्रदेशमा उत्पादित कृषि उत्पादनलाई गौतमबुद्ध सहकारी ब्राण्डमा बजारीकरण गरी ब्यवसायिक बनाउन सहकारी संघ र संस्था तथा स्थानीय, प्रदेश तथा संघीय सरकार मिलेर काम गर्न सकिन्छ।

कृषिको क्षेत्रमा उत्पादनमा सक्षम जिल्लाहरु भएको कारणले आन्तरीक खपत पछि बाँकी रहेको बचत उत्पादनलाई बिक्री गर्नका लागि सडक यातायातको राम्रो प्रबन्ध छ। त्यत्ति मात्र नभएर देश बाहिर, पाकिस्तान, बंगलादेश, भारतले जस्तै खाडी राष्ट्र्रमा निर्यात गर्नका लागि पर्खेर बसेको अन्तराष्ट्र्रिय बिमानस्थल रहेको छ। व्यवसाय नपाएको कारणले गौतमबुद्ध बिमानस्थललाई राम्ररी चलाउन सकिएको छैन। बिमानस्थल चल्न पनि खाडीमा मानव निर्यात गर्ने हाम्रो बाध्यता रहेको छ। युवा बेचेर देश चलाउने मानसिकता फेर्दै देशका उत्पादन बेच्ने उत्पादक देशको रुपमा मुहार फेर्न हामीले यो सहकारी परियोजनालाई उपयोग गर्नु पर्दछ।

संविधानले अर्थतन्त्रको तेस्रो खम्बाको परिचय दिएको सहकारी क्षेत्रलाई स्थानीय सरकार र प्रदेश सरकारले अनुदान तथा शेयर लगानी गरी सहायता गरेमा संविधानले दिएको अभिभारा पुरा हुनुको साथै नियमित राम्रो प्रतिफल पाउने अवसर समेत गौतमबुद्ध सहकारी ब्राण्ड परियोजनाले दिनेछ।

ठूलो जनसंख्या कृषिमा आधारित रहेको लुम्बिनी प्रदेशको कृषिलाई ब्यवसायिक बनाउन सहकारी क्षेत्र, सरकारी क्षेत्र र सहकारीका सदस्य मिली काम गर्नु अहिलेको आवश्यकता हो। सहकारीका संघहरुले साधारणसभा गर्न सदस्यसंग चन्दा माग्नु पर्ने परिस्थिति फेरेर ब्यवसाय गरी आत्मनिर्भर सहकारीका संघहरु बनाउन पनि यो गौतमबुद्ध सहकारी ब्राण्ड परियोजना लाभदायक हुन्छ। जय सहकारी।

- याे लेख  जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीले २०८० चैत्र २० मा प्रकाशन गरेको सहकारी दर्पणमा समावेश रहेको छ।

Comments

  1. हो, राम्रो अवधारणा हो यो, यसरी इमान्दार भएर काम गरे धेरै सम्भावना छ । आर्थिक विकासका लागि गर्नुपर्ने यसै हो तर.........

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सहकारीको दिगोपनका लागि नीति तथा विधिमा आधारित सहकारीता

‍.   - दामोदर पंगेनी बित्तीय कारोबार गर्ने संगठित संस्था नपुगेका धेरै स्थानमा , ससानो पूँजीलाई एकत्रित गर्दै , स्थानीय व्यक्तिहरु संगठित भइ आत्मनिर्भरता , उत्पादन र स्वाभिमानका सहित संचालनमा रहेका सहकारीहरु माथि अहिले विभिन्न क्षेत्रबाट प्रहार भइ रहेको छ। धेरै ठुलो जनसंख्यालाइ बचत गर्ने बानी पारेको संस्था, संगठन चलाउन सक्ने नेतृत्व विकास गरेको र सेवासुविधा नपुगेको क्षेत्रमा अनेकौं सेवा सुविधाको पहुँच बृद्धि गरेको सहकारी क्षेत्रले गरेको कामलाई नजरअन्दाज गर्दै सहकारी भनेकै अव्यवस्था हो भन्ने चित्रण गराउने दुस्प्रयास भएको देखिन्छ । यस्तो हुनुमा सहकारी क्षेत्रलाई बदनाम गराउन सके व्यवसायिक प्रतिस्पर्धामा अगाडि जान सकिएला भनी दुराशय राख्ने पक्ष संगसंगै सहकारी क्षेत्रलाई समयानुकूल संचालन र व्यवस्थापन गर्न नसक्ने , नीति र विधिको सट्टामा मनमौजी , व्यक्तिवादी शैली पनि उत्तिकै जिम्मेवार छ। औपचारिक सहकारीको स्थापना विश्वको तुलनामा ढिलोमात्र शुरु भएको नेपालमा शुरुवाती समयमा जनसमुदायलाई संगठित गरी समुदायमा छरिएर रहेको स–सानो पूँजी संकलन गरी सहकारी संस्था स्थापना गर्नु नै ठूलो सफलताको विषय रहे

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋणी स