Skip to main content

कोरोना भाइरसको कहरले स्थगित एसईई र हामी नागरिकको जिम्मेवारी

चिया गफ गरिरहेको समयमा साथीहरुबीच आजकाल रेडियोमा बिहानको कायाकैरन देखि रातको बिबिसी सम्म, जुनसुकै टिभि, पत्रिका, अनलाईन मिडिया र सामाजिक सञ्जाल हेर्दा चीनमा यति जना, इटाली, स्पेन, इरान लगायतमा यति जन मान्छे मरेको समाचार सुन्दा सुन्दा दिक्क लागेको कुराकानी भइरहँदा सञ्चारमाध्यमले समाचार ब्रेक गरेका छन् प्रवेशिका परीक्षा एसईई स्थगित भएको छ। 

परीक्षा केन्द्रबाट नजिक घर भएका विद्यार्थी बाहेक टाढा परीक्षा केन्द्र भएको कारणले परीक्षाको अघिल्लो दिनसम्ममा सबै विद्यार्थी आफन्तका घरमा, होटलमा पुगेर बसिसकेको बेला भइसकेपछि मात्र परीक्षा रोकिएको खबर आउनु बिरामी प्रधानमन्त्रीको नेतृत्वको सरकारले बेलैमा निर्णय गर्न नसकेको कारणले विद्यार्थीले पाएको दुख एकातिर हुँदाहुँदै पनि परीक्षा भन्दा सबैको ज्यान ठूलो मानेर अघि बढ्नु नै सबैको लागि राम्रो नै देखिन्छ। 

२१ औं शताब्दीमा देशले भोगेको सबैभन्दा कठिन समय १० वर्षे द्वन्द्वमा समेत यति नजिक आईसकेर स्थगित नभएको एसईई रोकिँदा देशमा त्रासको पारो निकै माथि पुगेको छ। स्वास्थ्यका पूर्वाधारको हिसावले, नागरिकको प्रतिब्यक्ति आयको हिसावले, संरचनाको हिसावले सम्पन्न इटाली, स्पेन, अमेरिका जस्ता देशमा फैलिईसकेको कोरोना शुरु भईसकेपछि रोक्न नेपाल जस्तो देशको लागि निकै कठिन काम हो, त्यसकारणले रोग फैलिन नदिनका लागि सावधानीका लागि नेपाल सरकारले केही छिटो गर्नु पर्ने निर्णय ढिलै भए पनि गरेको छ। तत्कालका लागि एसईईको परीक्षा स्थगित हुनु ठूलो र अप्रिय घटना लागे पनि नेपाल सरकारले विदेश तिर भनिने गरेको लक डाउन कै हाराहारीको गर्नै पर्ने निर्णय गरेको छ। 

अब हामी नागरिकले के गर्ने?
कोरोना कसरी सर्छ भन्ने बारेमा, कसरी सुरक्षित भन्ने बारेमा
सरकार, निजी क्षेत्र, नागरिक समाज, सामाजिक संघसंस्था, सहकारी सबैले सहकार्यमा कोरोना भाइरस कसरी सर्छ, लक्षण के के हुन्छन्, भाइरसबाट सुरक्षित रहने तरिका के के हुन्छन्, कोरोना भाइरसबाट कसरी बच्ने कसरी अरुलाई बचाउने भन्ने बारेमा सूचना प्रसार प्रसार भईरहेको छ। अब विश्वभरको अनुभव हेर्दा हामी प्रचार प्रसारको कदम भन्दा अझै कडा कदम चालिहाल्नु पर्ने स्थिति आएको स्पष्ट छ।

हामी नागरिकले विभिन्न संचार माध्यमबाट सूचना पाइरहेका छौं । विकसित, सुविधासम्पन्न बिभिन्न देशमा नागरिकले गरेका साना असावधानीले धेरैको ज्यान लिइसकेको छ। हामीले अरुको गल्तीबाट सिक्नै पर्छ अरु देश र अरु देशका नागरिकले गरेका ती कुनै असावधानी दोहोर्‍याउनु हाम्रो देशको लागि अक्षम्य हुन्छ। 

कमजोर स्वास्थ्य पूर्वाधार, स्वास्थ्य प्राविधिकको अभावको कारणले अरु देशमा जस्तो स्थिति आएमा हामी बिचल्ली हुने छौं। लक्षण देखिएका विरामीलाई अरु बिरामी भन्दा टाढा राखेर उपचार गर्ने स्थल (आइसोलेसन वार्ड) बनाउने स्थल कहाँ हुने भन्ने बारेमा सरकारले समेत केही पहिल्याउन नसकेको अवस्थामा १६७ देशमा फैलिइसकेको र हाम्रो छिमेकी भारतको उत्तरप्रदेशको नजिकैको शहर लखनउ सम्म आइसकेको हुनाले कहिलेकाँही रोमाञ्चका लागि भनिने गरेको हाम्रो देशले नसके अरु देशले त हाम्रो गरीव देशलाई हेर्लान् भन्ने तर्क पनि यसपटक उपयुक्त छैन किनकी सबै विकसित र सम्पन्न भनिने देश पनि आफ्नै देशमा यही समस्याबाट जुधिरहेका छन् । त्यसैले हामी एकताबद्ध भईमात्र यो विश्वभर फैलिएको महामारी संग लड्न सकिन्छ। हामी नेपाली र नेपाल संग भएको विकल्प भनेको रोग लागिसकेपछि उपचार खोज्ने होइन रोग लाग्न नदिन पूर्ण प्रयास गर्नु नै हो।

यो रोगको डरलाग्दो पक्ष भनेको मान्छेबाट मान्छेमा सर्नु हो। मान्छेबाट मान्छेमा सर्ने भएकोले यो रोगबाट बच्ने प्रमुख उपाय भनेको अन्य मानवको पहुँचबाट टाढा रहनु हो। अन्य मावन संग भेटघाट गर्नु पर्दा, अन्य मानवले प्रयोग गरेका सामाग्री प्रयोग गर्नु पर्दा रोगबाट बच्न पूर्ण सावधानी अपनाउनु हो। त्यसैले विद्यालय, क्याम्पस, रेष्टुरेन्ट, सिनेमाहल लगायतका बढी मावन भेटघाट हुने स्थानलाई बन्द गर्नु परेको हो। केही समयका लागि परीक्षा सरेर, सिनेमा नहेरेर, पार्कमा नघुमेर, होटल, रेष्टुरेण्टमा नगएर, भेला, सभा, गोष्ठी, उत्सव, बिवाह ब्रतबन्ध जस्ता कामलाई रोकेर हामी पछाडि पर्ने छैनौं। 

यस्तो अवस्थामा हामी नागरिकले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर नजाने, घरमा सुरक्षाका उपाय सहित बस्ने, समस्यामा परेका छिमेकीलाई सहयोग गर्नु, स्वास्थ्य कर्मी, स्वयंसेवक र सुरक्षाकर्मीहरुको हौसला बढाउने, सरकार र स्वास्थ्य संस्थाले जारी गरेका सूचनाको पालना गर्ने, त्रसित गराउने भन्दा पनि सावधान गराउने काम गरेर हामीले कोरोना भाइरससंग मानवताको लडाइमा सहभागी हुन सक्दछौं। मानवता नै भाइरससंग लडेको बेलामा केही सामान स्टक भएका र दुषित मन भएकालाई लाग्ला यो समय सामानको दरभाउ बढाएर, कालाबजारी गरेर पैसा कमाउने बेला हो, तर पैसालाई मानवता संग साट्न खोज्नेले सम्झे हुन्छ यसरी कमाएको सम्पत्ति देखाउने छिमेकीलाई रोग लाग्यो भने तपाई पनि त्यसको चंगुलबाट बच्न कठिन होला र बचेको खण्डमा पनि कमाएको सम्पत्ति मानव कंकाललाई देखाउँदा रमाइलो पक्कै हुने छैन।

आउनुस् हामी सबै मिलेर कोरोना भाइरस संग लडौं, आफू बचौं र अरुलाई पनि बचाऔं । 

जय नेपाल !

Comments

Popular posts from this blog

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋ...

‘रुपन्देही–जिल्ला एक परिचय अनेक’

–दामोदर पंगेनी एसियाका ज्योति गौतम बुद्धको जन्मस्थल पवित्र धार्मिक स्थल लुम्बिनीलाई आफ्नो मुटुमा संगालेको ‘रुपन्देही’ नेपालको एक महत्वपूर्ण जिल्लाको रुपमा परिचीत छ । पश्चिमाञ्चल विकासक्ष्ँेत्रको लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही १३६० वर्ग किमी ओगटेको मध्यम आकारको जिल्ला हो । नेपालको सवभन्दा लामो महेन्द्र राजमार्गले पूर्व पश्चिम काटेको र अर्को महत्वपूर्ण सिद्धार्थ राजमार्ग यसै जिल्लाको वेलहिया देखि शुरुवात हुनुको साथै जिल्ला सदरमुकाम भैरहवामा विमानस्थल रहेको छ । जातिय तथा भाषिक विविधता बोकेका नेपालका अन्य जिल्लाझै यस जिल्लामा पनि विभिन्न जातजाति तथा भाषाभाषिको वसोवास रहेको छ । वसोवासको बनौट हेर्दा जिल्लाको पूर्वोत्तर भागमा पहाडी मूलका र पश्चिमी भागमा आदिवासी थारु जातिको बाहुल्यता रहेको छ । राजनीतिक दृष्टिकोणले यस जिल्लालाई सात निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ भने यस जिल्लामा कुल ६९ गाविस तथा बुटवल र सिद्धार्थनगर गरी २ नगरपालिका रहेका छन् । ७,०८,४१९ जनसंख्या रहेको जिल्लामा जनसंख्या मध्ये ६६.२ प्रतिशत जनसंख्या साक्ष्ँर रहेको छ । मुख्यतः लुम्बिनी अञ्चलका अन्य जिल्लाका साथै गण्डकी र ...

सहकारी सङ्घसंस्थामा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था !

सम्पत्ति शुद्धीकरण को   अवधारणा  सम्पत्ति शुद्धीकरण  (Money Laundering)  भन्नाले गैर कानूनी रुपमा आर्जित आय वा कालो धनलाई धोई पखाली शुद्घ बनाउने कार्य तथा प्रक्रियालाई  बुझिन्छ । यो सम्पत्तिको गैर कानूनी स्रोत लुकाउने वा छल्ने कार्य तथा प्रक्रिया  हो । सम्पत्तिको सही प्रकृति , स्रोत , स्थान , निसर्ग , स्वामित्व वा सो सम्पत्ति उपरको अधिकार लुकाउने , छल्ने वा बदल्ने कार्य अर्थात् सम्पत्ति शुद्धीकरणलाई एक मूलभूत अपराध मानिन्छ । कसूर गरी सम्पत्ति प्राप्त गर्ने , प्रयोग गर्ने वा धारण गर्ने कार्यसँग सम्पत्ति शुद्धीकरण सम्बन्धित छ । सम्पत्ति शुद्धीकरण आफैमा मूल अर्थात् सम्बद्ध कसूर  (Predicate  Offence)  होइन र यो मूल कसूरको सह – अपराध  (Secondary Offence)  को रुपमा रहने अपराध हो । यो एक बहुआयामिक वित्तीय अपराध  (Multi‐Dimensional Financial Crime)  हो । कसैले पनि सम्पत्ति शुद्धीकरण गर्नु गराउनु हुँदैन । सम्पत्ति शुद्धीकरण अपराध भएकोले यो कानूनद्वारा दण्डनीय हुन्छ । गैर कानूनी कार्य गरी आर्जन गरेको सम्पत...