Skip to main content

नक नक (विश्वकप फुटबल)

गत राती विश्वकप फुटबलमा ब्राजिल हारेपछि मन दुखाउँदै सुतेको थिएँ। निद्रा त के लाग्थ्यो तर पनि हे विश्कप माता अब हुने खेलमा नेदरल्याण्ड्सलाई जिताइदेउ भनेर सुतें। बिहान झिसमिसेमा उठेर मोबाइल हेर्दा सात समुद्र पारी देखि बिरोधी टिमका साथीले म्यासेज गरेका रहेछन् नक नक भनेर। मन मिल्ने साथी भएपछि यति शब्दले पनि धेरै बुझिन्थ्यो। साथीले देख्यौ तिम्रो टिम हार्‍यो मेरो टिमले जित्यो भन्ने फुर्तिको म्यासेज हो यो।  FOT Mob एप खोलेर हेर्न पर्दैन अब जसले नजितोस् भनेर सुतेको त्यसैले जितेछ भन्ने मनले बुझिसक्यो। 
ब्राजिल हारेर बनेको घाउमा साथीले नुनचुक दलिदिए पनि मन कमजोर छैन। साँझ पोर्चुगललाई जिताएर मन भुलाइन्छ भन्ने आशा छ। क्रोयशियाले आउने खेलमा तिम्रो टिमलाई ढलाउँछ भन्न मन थियो तर खुसी हुन दिम १-२ दिन भनेर छाड्दिन मन लाग्यो।

हुन त आफ्नो टिमले जितेर साथीहरूको टिमले हार्दा तात्तातै फ‍ोन
 गरेर उडाएकै हो। साथीहरूलाई उडाउन आफुले बाँकी नराखे पछि उनीहरूले पनि मौका पाउँदा किन छाड्थे भनेर चित्त बुुझाइयो।
 विश्वकप फुटवल चलिरहेको छ। फुटबल मन पर्नेहरूलाई यो ४ पर्वमा आउने अपूर्व चाड हो। चुनावको वेला राजनीतिक सरगर्मी बढेझैं विश्वकपको बेला फुटबलको सरगर्मी बढेको हुन्छ। चिया पसल देखि सामाजिक सञ्जालमा फुटबलको चर्चा देख्दा मन रोमाञ्चित हुन्छ। 
फुटबलको शक्ति पनि अचम्मको छ। चुनावमा पटक्कै नमिलिने साथीहरू पनि फुटबलमा एउटै टिमतिर लागिन्छ। जिग्रीहरूलाई पनि फुटबलले दुई ध्रुबमा बाँड्छ। घरमै श्रीमती र म ब्राजिल तिर लाग्दा छोरीले मेरो टिम त पोर्चुगल भनेर रमाउँछिन्।

यस्तै रमाइलोले गर्दा १९९८ को विश्वकप देखि निरन्तर पछ्याइरहेको छु। विश्वकपको मज्जा भनेकै साथीहरू यो टिम र त्यो टिम भनेर बाँडिएर फुटबल हेर्दा लाग्छ।
विश्वकपमा खुसी र दुखको समीकरण
-आफ्नो टिमले जित्दा खुसी लाग्ने 
-आफ्नो टिमले जितेर साथीहरूको टिमले हार्दा झन् खुसी लाग्ने 
-आफ्नो टिमले हार्दा दुख लाग्ने
-आफ्नो हारेर साथीकोे जित्दा सहिनसक्नु दुख लाग्ने 
विश्वकपमा समर्थन चक्र
-पहिलै देखि मन परेको सधैं मन पर्ने।  (ब्राजिल)
-आफ्नो टिमलाई जितिरहनेलाई पटक्कै मन नपर्ने (फ्रान्स)
-ब्राजिल मन परेपछि अर्जेन्टिनाको खेदो खन्नै पर्ने
-मन नपर्ने टिमको बिरोधमा जुन टिम भए पनि समर्थन गरिने
(क्रोयसिया)  
-मन नपर्ने टिम भए पनि आफ्नो क्लबबाट खेल्ने खेलाडीको माया लाग्ने टिमले नजितोस् तर उसले गोल गरोस् भन्ने लाग्ने (लुका मोड्रिच, डि मारिया)
-आफ्नो मन पर्ने खेलाडीले गोल गरेरै जिते हुन्थ्यो भन्ने लाग्ने (आफै चिन्नुस्)
-आफ्नो मन पर्ने खेलाडीको प्रतिस्पर्धीले गोल नगरे हुन्थ्यो भन्ने लाग्ने (चिन्नुस्)
-मन पर्ने देशले जित्दा पनि मन नपर्ने क्लबक‍ो खेलाडीले गोल नहाने हुन्थ्यो जस्तो हुने
- मन पर्ने देशको प्राथमिकता क्रम हुने (पहिलो ब्राजिल त्यसपछि पोर्चुगल)
-आफ्नो महादेशको भनेपछि माया लाग्ने (जापान, कोरिया)
 
यस्तै रोमाञ्चक प्रतिस्पर्धाले दिन रात नभनी फुटबल हेरिन्छ।  बिश्वकप नहेरी बस्न सकिन्न। राती उठेर आँखा मिच्दै फुटबल हेरिन्छ ।
रोमाञ्चक संस्मरण
१२ बर्ष अघि विश्वकप फुटबलको खेल चलिरहेको थियो। हामी विश्वविद्यालय पढ्ने क्रममा कीर्तिपुर बस्थ्यौं। हामी बस्ने कोठामा भेटघाट गरौं अनि संगसंगै फुटबल पनि हेरौं भनेर अर्जेन्टिनाका फ्यान प्रिय साथीहरू आए। साँझ पख अर्जेन्टिना र जर्मनीको खेल थियो दिनभर अर्जेन्टिनाको गुणगान गाएर दंग थियोे। विश्वकप त मानौ अर्जेन्टिनाको लागि नै आयोजना गरिएको हो। सुनिनसक्नु, भनिनसक्नु थियोे दिनभर । 
जब साँझ पर्‍यो हतारहतार खाना पकाउन थालियो। जर्सीको रङ मिल्छ भनेर डिडिसीको दही खानैपर्छ भन्ने दावी आयो। बेसार नहालम तरकारीमा भने साथीहरूले ब्राजिल जस्तो लाग्छ रे। अफ सिजनको सुन्तला समेत खाएनन् प्रिय साथीहरूले नेदरल्यान्डसको झल्को आउँछ रे।  जसोतसो साथीहरूको मन राखी राखी खाइयो। 
खेल शुरू भयो अनि साथीहरूको हुटिङ पनि, गोल जर्मनीले हान्यो। बोली अलि सुस्त भयो । क्रमशः ४ गोल खायो १ गोल हान्यो । राति भएर साथीहरूको अनुहारको रंग देखिएन। साथीहरू रेफ्रीलाई दोस देखाउँदै थिए। पीडामा रहेका साथीलाई राति के भन्ने भनेर सुतियो। 
बिहान खेलको कुरा गर्न पर्ला भनेर सँगसँगै सुतेका साथीलाई बोलाउन थालेको छ। चाँइचुई छैन। शौचालय गएछन् कि भनेर पर्खे, अहँ आएनन्। झोला नि छैन। सँगसँगै सुतेको साथीले थाहा नपाउने गरि २ जना साथीहरू कता लागेछन् भनेर फोन गरेको हामी त मुङलिन पुग्न थालेम रे ! खेल समीक्षा गर्न पर्ला भनेको त साथीहरू ४ बजे बिहानै उठेर घर तिर भागेछन्। 
#जय_फूटबल 
#जय_विश्वकप

Comments

  1. मन पर्ने टिमको हारसँगै बिश्वकपको सिजन पनि समाप्त भएजस्तो लाग्ने रहेछ।

    ReplyDelete

Post a Comment